‘महाराजधिराज’मा अभिनेत्री उषा रजकको प्रवेश, मुख्य कलाकार टोली पूरा

-


     हिडन खबर    
     जेठ २७ गते २०८२ मा प्रकाशित


काठमाडौं । निर्देशक परिच्छेद सेनको नयाँ फिल्म ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्धित भएकी छन्। उनको अनुबन्धसँगै फिल्मको प्रमुख कलाकारहरूको टिम अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ।

यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का जस्ता चर्चित कलाकारहरू फिल्ममा अनुबन्ध भइसकेका थिए। महिला कलाकारको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन्।

निर्माण पक्षका अनुसार ‘महाराजधिराज’ले नयाँ र पुराना पुस्ताका कलाकारहरूको संयोजनमार्फत फरक स्वादको कथा दर्शकमाझ ल्याउने उद्देश्य लिएको छ। यसअघि नै जय किशन बस्नेत, गजित विष्ट र आशा पौडेल पनि फिल्ममा समावेश भइसकेका छन्।

प्रस्तुतकर्ता विराज बिष्टका अनुसार उषा रजकको अनुबन्धसँगै प्रमुख कलाकारहरूको लाइनअप टुंगिएको हो। “हामीले अभिनयमा दखल राख्ने चर्चित अनुहारहरूलाई जोड्न सकेका छौं,” बिष्टले बताए, “अब केही सहायक भूमिकामा कलाकार छनोटको काम बाँकी छ। हाम्रो टोली बलियो बनेको छ।”

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन स्वयं परिच्छेद सेनले गर्नेछन्। उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा सफल ठहरिएको थियो।

‘महाराजधिराज’ आगामी फूलपातीको अवसरमा देशभर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। छायांकन मिति र प्राविधिक टोलीको विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।