
काठमाडौं।जेठ २५
नेपाली चलचित्र ‘लाज शरणम्’ ले प्रदर्शनको १०१औं दिन मनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई सहयोग प्रदान गरेको छ।
चलचित्र टिमले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा अवस्थित श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, झोला (ब्याग) र पानीको बोतल वितरण गरेको हो।
यस सहयोग कार्यक्रम मदर किड्स फाउन्डेसन नेपाल को आयोजनामा सम्पन्न भएको हो, जसमा चलचित्रका निर्माता नवीन श्रेष्ठ स्वयं उपस्थित भई सामग्री हस्तान्तरण गरेका थिए।
“चलचित्र लाज शरणम् ले १०१ औं दिन सफलतापूर्वक पूरा गरेको अवसरमा हामीले सामाजिक योगदानको रूपमा यो सानो पहल गरेका हौं,” निर्माता श्रेष्ठले भने, “यस्ता सामाजिक कार्यमा भविष्यमा पनि निरन्तर सहकार्य गर्दै जानेछौं।”
१०१ दिनसम्म प्रदर्शनमा रहन सफल चलचित्र ‘लाज शरणम्’ को निर्देशन कुमार कट्टेलले गरेका हुन्। यो चलचित्रले राजधानीका रञ्जना सिनेप्लेक्स (न्युरोड) र बिएसआर मुभिज (गोंगबु) मा १०१औं दिनको विशेष प्रदर्शनसहित यो उपलब्धि मनाएको हो।
गत वर्ष फागुन १४ गते (शिवरात्रिको अवसरमा) प्रदर्शनमा आएको यस चलचित्रले ‘पूर्णबहादुरको सारङ्गी’पछि १०१ दिन मनाउने दोस्रो सफल चलचित्र बन्ने गौरव पाएको छ।
चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, अर्जुन घिमिरे, दयाहाङ राई, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ। निर्देशक कुमार कट्टेल स्वयंले पनि विशेष भूमिका निभाएका छन्।
जेपीटी क्रिएसन को ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने सह–निर्मातामा राम नरेश शाह र सिर्जना खड्का रहेका छन्।
चलचित्रको सफल यात्राले आफूलाई उत्साहित बनाएको जनाउँदै निर्माता श्रेष्ठले आफ्नो आगामी परियोजना ‘पाँच पाण्डव’ को तयारी भइरहेको बताएका छन्। यस चलचित्रको कथा सुशील पौडेल ले लेखेका हुन् भने निर्देशन वसन्त निरौला ले गर्ने तय भएको छ। चलचित्रको छायांकन आगामी भदौ महिनातिर सुरु हुने तयारी छ।
त्यसैगरी, निर्माता श्रेष्ठले ‘लाज शरणम् २’ निर्माणको तयारीसमेत प्रारम्भ भएको जानकारी दिएका छन्।
















