
काठमाडौं । प्रतीक्षित चलचित्र ‘द ब्ल्यू लाइट’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा प्रमुख कलाकार बेनिशा हमाललाई बारमा तनावपूर्ण मुद्रामा प्रस्तुत गरिएको छ।
पोस्टरमा बेनिशा निलो प्रकाशको संयोजनमा देखिएकी छिन्। हातमा चुरोट च्यापेर बसेकी उनको अनुहारमा देखिएको तनाव, अगाडि रहेको रक्सीको कप र उनको ‘गेटअप’ले उनी बारगर्लको भूमिकामा रहेको सङ्केत गर्छ। यो पोस्टरले कसैबाट धोका पाएपछिको तनाव झल्काएको हो कि भन्ने अनुमान गरिएको छ, यद्यपि निर्माण पक्षले यसबारे थप खुलाएको छैन। बेनिशाको भूमिका र चलचित्रको कथावस्तुबारे क्रमशः जानकारी गराउँदै जाने निर्माण पक्षले जनाएको छ।
पोस्टरले काठमाडौंको रंगीन रात्रि जीवनभित्रको तनाव, त्यसका अँध्यारा पाटा र मनोवैज्ञानिक पक्षको कथालाई चित्रण गर्न खोजेको सङ्केत गरे पनि यसको पूर्ण विवरण भने अस्पष्ट नै राखिएको छ।
छायांकन सुरु, थिम पोस्टर पहिले नै सार्वजनिक
चलचित्रको छायांकन गत बिहीबारबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुरु भइसकेको छ। यसको कुल छायांकन तालिका २० दिनको रहेको छ।
यसअघि नै चलचित्रको थिम पोस्टर सार्वजनिक भइसकेको छ। थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणमा एक बालिका उभिएकी छिन्। बालिकाको कम्मरभन्दा माथिको भाग मात्र देखाइएको उक्त पोस्टरमा उनको विच्छेदित मुद्रा र उडेका कपालले चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्काउँछ।
बलिराम चौहानको डेब्यु निर्देशन‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरिरहेका छन्। चौहान अहिले निकै प्रतिक्षित चलचित्र ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक पनि हुन्। ‘द ब्ल्यू लाइट’ उनको डेब्यु निर्देशकीय चलचित्र हो।
कलाकार तथा निर्माण टिम साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको ‘द ब्ल्यू लाइट’लाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ। चलचित्रमा बेनिशा हमालसँगै अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ र सुरक्षा इटानीको मुख्य भूमिका रहनेछ। बाल कलाकारका रूपमा ग्रिसमा कटुवाल र सहारा शर्मालाई देख्न सकिनेछ।
यस चलचित्रमा रमन ग्रे को-प्रोड्युसरको भूमिकामा छन् भने कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहेका छन्। चलचित्रको छायांकन नरेन्द्र मैनालीले नै गर्नेछन्।
आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा कार्यरत छन्।
निर्देशक चौहानका अनुसार ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै प्रदर्शनमा आउनेछ।









