कोटिहोममा ऐतिहासिक भीड: एकै दिन ५ लाख भक्तजन, २१ करोड दीप प्रज्वलन

-


     हिडन खबर    
     जेठ २६ गते २०८२ मा प्रकाशित


पोखरा, जेठ २५ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार देशभरबाट झन्डै ५ लाख भक्तजन सहभागी भएका छन्। आयोजकका अनुसार यो धार्मिक कार्यक्रम हालसम्मकै सबैभन्दा ठूलो भीड भएको ऐतिहासिक क्षण बनेको छ।

निर्जला एकादशी तथा २१ करोड दीप प्रज्वलनको अवसरले गर्दा पनि भक्तजनको उपस्थिति विशेष रह्यो। बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे दीप प्रज्वलन गरिएको थियो। मानव सेवा फाउन्डेसनका अनुसार यति ठूलो दीप प्रज्वलन कार्यक्रम सम्भवत: पहिलोपटक भएको हो।

भीडले पोखराको यातायात व्यवस्थामा असर पारेको थियो भने ट्राफिक प्रहरी व्यवस्थापनमा खटिएका थिए। कार्यक्रमस्थल भक्तजनले खचाखच भरिएको थियो।

जग्गा दान र सहयोगको लहर

कार्यक्रममा मानव सेवा फाउन्डेसनलाई विभिन्न भक्तजनले जग्गा तथा आर्थिक सहयोग गरेका छन्। पोखरा–३३ का नीलकण्ठ पौडेलले ३ रोपनी २ दाम ३ पैसा, नुवाकोटका राम शरण न्यौपानेले ४ आना जग्गा दान गरे। फाउन्डेसनले देशभरबाट झन्डै २२ रोपनी जग्गा प्राप्त गरिसकेको छ।

त्यस्तै, विभिन्न भक्तजनहरूले लाखौँ रकम सहयोग गर्दै अनाथ बालबालिकाको अभिभावक बनेका छन्। भोजपुर, पोखरा, स्याङ्जा, लमजुङलगायत जिल्लाबाट सहयोग प्राप्त भएको हो।

राष्ट्रिय भजन प्रतियोगिता: हेमजाको देविस्थान समूह प्रथम

कोटिहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगितामा देविस्थान भजन समूह हेमजा–२५ प्रथम भएको छ। दोस्रो स्थानमा माछापुच्छ्रे सेवा समाज, तेस्रोमा बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान रहे। सान्त्वना पुरस्कारसहित १० भन्दा बढी समूहले विभिन्न विधामा पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामा २५६ समूहले भाग लिएका थिए। विजेतालाई जेठ ३० गते पुरस्कार वितरण गरिनेछ। प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेताले क्रमशः ३.५५ लाख, २.५५ लाख, १.५५ लाख६५ हजार नगद पुरस्कार पाउनेछन्।

कथा वाचन र कार्यक्रमको निरन्तरता

भागवत मञ्जरी राधिका दासीले विभिन्न समुदायको पहिरनमा कथा वाचन गर्दै धार्मिक सद्भाव प्रस्तुत गरिरहेकी छन्। उनले जेठ ३१ गतेसम्म कथा वाचन गर्नेछिन्। आयोजकले कोटिहोमको अवधि जेठ ३१ सम्म बढाएको जनाएको छ।