
बागलुङ, २४ जेठ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सामग्री वितरण गरेको छ।
गण्डकी प्रदेशअन्तर्गत कम्पनीको उप–प्रादेशिक कार्यालय बागलुङका प्रमुख बलराम गौतमको नेतृत्वमा बागलुङ, कुश्मा र बेनी शाखा प्रमुखहरूको सहभागितामा उक्त सामग्री वितरण गरिएको हो।
मानव सेवा आश्रम बागलुङमा आयोजित कार्यक्रममा संस्थाका बिपना तामाङलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै उप–प्रदेश प्रमुख गौतमले वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले आश्रममा सहयोग पुर्याएको जानकारी दिनुभयो।
“हाम्रो संस्था जीवन बीमा सेवा मात्रै होइन, सामाजिक सेवामा पनि अग्रसर छ। आश्रममा आश्रितहरूको आवश्यकता विचार गर्दै यो सहयोग गरिएको हो,” गौतमले भन्नुभयो।
कार्यक्रममा कम्पनीका विभिन्न शाखाका एजेन्सी म्यानेजरहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मानव सेवा आश्रमकी प्रतिनिधि बिपना तामाङले संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले आश्रममा बसोबास गरिरहेकालाई राहत मिल्ने बताउनुभयो।
सहयोग सामग्रीमा चामल, दाल, नुन, चिउरा, तेल, मसला लगायत दैनिक उपभोग्य वस्तुहरू रहेका छन्।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।














