
काठमाडौं, जेठ २३ – समसामयिक आर्थिक विषयमा केन्द्रित गर्दै एभिन्युज खबर टेलिभिजनले आयोजना गरेको विशेष कार्यक्रम “एभिन्युज एजेन्डा: बजेट र प्रभाव” शुक्रबार काठमाडौंको होटल र्याडिसनमा सम्पन्न भएको छ।
कार्यक्रममा अर्थमन्त्री, पूर्व मन्त्री, सांसद, अर्थविद् र उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले हालको आर्थिक अवस्था, बजेटले उत्पन्न पारेका दबाबहरू, सम्भावित सुधारका उपायहरू तथा आर्थिक वृद्धिको सम्भाव्यतामाथि गहन विचार राखेका थिए।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, संघीय संसद अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्व मन्त्री सुरेन्द्र पाण्डे, पूर्व गभर्नर तथा अर्थविद् चिरञ्जीवी नेपाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल लगायतले आ–आफ्ना धारणा राखेका थिए।अहिले देशमा राजनीति अस्थिरता कै कारणले अर्थतन्त्रमा प्रभाव पारेको पुर्व अर्थमन्त्री जनार्दन शर्माले बताए ।देशको आर्थिक निति नभएको कारणले पनि समस्या आउने गरेको हुदा यसलाई सबै राजनीतिदल मिलेर अगाडि जानुको विकल्प नभएको शर्माले बताए ।
वक्ताहरूले बजेटको समग्र प्रभाव, नीति निर्माणमा देखिएका चुनौतीहरू, निजी क्षेत्रको भूमिकासम्बन्धी मुद्दा, तथा विकास खर्चको प्रभावकारीता र कार्यान्वयनबारे आलोचनात्मक दृष्टिकोणसहित विश्लेषण प्रस्तुत गरे।
एभिन्युज खबरले आयोजना गरेको एभिन्युज एजेन्डा बजेट प्रभाव बिषयमा राखिएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष सुरज बैध लगायतका सहभागीहरूले अहिले सरकारले ल्याएको बजेट परम्परागत
हरेक बर्ष नयाँ आशा देखाइएपनि त्यो यथार्थपरक नभएको
धारणा राखेका थिए।पर्यटन क्षेत्र लाई प्रमुख क्षेत्र मानिएपनि
भारत बाट आउने पर्यटकले २५ हजार भारू भन्दा बढी ल्याउन नपाउने प्रावधान गलत भएको कारणले अर्थतन्त्र चलायमान हुन नसकेको हुदा यस्तो निति फेर्न जरुरी रहेको धारणा राखेका थिए ।
कार्यक्रमका दौरान एभिन्युज खबर टेलिभिजनले एचडी च्यानलमार्फत प्रशारण सुरु गरेको औपचारिक घोषणा पनि गरिएको थियो। उक्त घोषणा च्यानलका अध्यक्ष भास्कर राज राजकर्णिकारले गरेका हुन्। उनले प्रविधिमा आएको तीव्र परिवर्तनका कारण दर्शकको अनुभव स्तरीय बनाउन एचडी प्रसारण सुरुवात गरिएको जानकारी गराए।
कार्यक्रमको सञ्चालन एभिन्युज खबरकी सञ्चारकर्मी प्रभा थापाले गरेकी थिइन्। कार्यक्रममा सहभागि विश्लेषक तथा सरोकारवालाहरूले यस प्रकारका बहसले नीति निर्माणकर्तालाई सही सन्देश पुर्याउन र प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा व्यक्त गरेका थिए।















