
बागलुङ, २१ जेठ २०८२ – शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुखले सिटरोल प्रमाणिकरणको नाममा नयाँ शिक्षकहरूसँग अनावश्यक आर्थिक माग गरेको गुनासो शिक्षकहरूले गरेका छन्।
शिक्षक सेवा आयोगमार्फत २०८१ सालमा स्थायी नियुक्ति प्राप्त गरेका शिक्षकहरूले राष्ट्रिय किताबखाना (शिक्षक) मा सिटरोल पेश गर्नुपर्ने प्रक्रियामा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले प्रति शिक्षक एक हजार रुपैयाँ माग गरेको आरोप लगाएका हुन्।
गत वर्ष मात्र बागलुङ जिल्लामा प्रावि (प्राथमिक तह) अन्तर्गत २३१ जना नयाँ शिक्षक स्थायी नियुक्ति पाएका थिए। तीमध्ये धेरैजसो शिक्षकहरूले आफूहरूबाट ‘सहज व्यवस्थापन’को नाममा नगद मागिएको गुनासो गरेका छन्।
एक शिक्षकले भने, “हामी आफैँ सिटरोल प्रमाणित गरेर किताबखाना लैजाने तयारीमा थियौं। तर कार्यालय प्रमुखले भने, ‘तपाईंले हजार दिनुस्, म नै किताबखाना पुर्याइदिन्छु’ भन्दै पैसा माग्नुभयो। नियम विपरीत रकम तिर्न नमानेपछि हस्ताक्षर गर्न आनाकानी गर्नुभयो, अन्ततः हामी बाध्य भएर बुझायौं।”
शिक्षकहरूको भनाइअनुसार पैसा तिर्न नमानेका शिक्षकहरूमाथि हस्ताक्षरमा ढिलासुस्ती वा असहज व्यवहार देखाइएको छ।
यस विषयमा उजुरी जिल्ला प्रशासन कार्यालयमा समेत परेको छ। स्रोतका अनुसार प्रशासनले बुधबार समन्वय इकाई प्रमुख प्रकाश बन्दु अर्यालसँग लिखित स्पष्टीकरण मागेको छ।
आफूमाथि लागेका आरोपबारे प्रतिक्रिया दिँदै इकाई प्रमुख अर्यालले भने, “शिक्षकहरूको सहुलियत र व्यवस्थापनका लागि ८० जना शिक्षकबाट व्यवस्थापन खर्चका रूपमा केही रकम संकलन गरिएको हो। यो अनिवार्य शुल्क थिएन।”
तर शिक्षकहरूले भने यो ‘स्वेच्छिक’ नभई बाध्यतामूलक संकलन भएको दाबी गरेका छन्।









