
हिड्न खबर डट्कम
पोखरा, जेठ १९
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचनरत भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको परम्परागत पहिरनमा प्रस्तुत भइन्।
राधिका दासीले आफू जहाँ जान्छिन्, त्यहाँको संस्कृति र पहिचानलाई आत्मसात गर्दै आएको बताउँदै महायज्ञका प्रचारप्रसार संयोजक लेखराज ढकालले भने, “गुरुङ समुदायको पोशाकमा कथा वाचन गरेर उनले विविध संस्कृतिको सम्मानको सन्देश दिएकी छन्।”
कोटिहोमको उद्देश्य: सबै धर्म, सम्प्रदाय र जातको समायोजन
कोटिहोम कुनै एक धर्म, जात वा सम्प्रदाय केन्द्रित नभई नेपालका विविध धार्मिक र सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने उद्देश्यले आयोजना गरिएको हो। राधिका दासीको प्रस्तुति यसैको ज्वलन्त उदाहरण हो। उनले मखमल र भेल भेटको चोलो, घलेक, कटनको लुङ्गी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरीमा सजिएर कथा वाचन गरेकी थिइन्।
नेतृ कार्कीको प्रशंसा र महायज्ञको पर्यटनमा योगदान
काठमाडौंबाट महायज्ञ अवलोकन गर्न आएकी प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको नेतृत्वमा भइरहेको कोटिहोम आयोजनाको प्रशंसा गरिन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय नेतृ समेत रहेकी कार्कीले पोखरालाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने गन्तव्यको रूपमा अघि बढाउने कार्यमा महायज्ञले ठूलो टेवा पु¥याउने धारणा राखिन्। उनीसँगै पार्टीका विभिन्न तहका नेताहरू पनि दर्शनमा सहभागी भएका थिए।
कोटिहोममा उल्लेखनीय आर्थिक सहयोग
महायज्ञमा विभिन्न श्रद्धालु तथा संस्थाहरूबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको छ।
सविता खत्री क्षेत्री, निलम गुरुङ परिवार (पोखरा–१७) — २५ हजार
रामबहादुर खाँड ठकुरी (पोखरा–८) — २५,१५५
अनिता कुमारी शर्मा पोख्रेल (पोखरा–१७) — २५ हजार
शोभा महत (पोखरा–८) — २५,६०५
झपटबहादुर केसी, देवका केसी (तनहुँ) — १०,२१०
डिल्लीराम अधिकारी (माछापुच्छ्रे–४) — २५ हजार
मानव मिलन नारी जागरण नेपाल — २५,१००
हरिराज कोइराला (पोखरा–६), हरिराम देवकोटा (पोखरा–१७), नारी परोपकार केन्द्र, भवानी आमा समूह, चन्द्रसूर्य टोल विकास संस्था, रमेशराज भुसाल (काठमाडौं), शिखतानी चेलीबेटी (पोखरा–११) लगायतबाट समेत सहयोग प्राप्त भएको प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए।
विरोधलाई ओझेल पार्दै जनसहभागिता बढ्दै
सुरुमा केही विरोधका स्वर उठेपनि अहिले जनसमर्थन र उपस्थिति उत्साहजनक देखिएको छ। सामाजिक सञ्जालमा कोटिहोमप्रति समर्थन व्यक्त गर्नेको सङ्ख्या बढ्दो छ।
लोकगायिका राधिका हमाल तथा चर्चित लोकदोहोरी गायिका टिका सानुको भजन प्रस्तुतीले कार्यक्रम झनै रौनकपूर्ण बनेको थियो।
राधिका दासीको कथा वाचन जेठ २६ सम्म
भागवत मञ्जरी राधिका दासीले जेठ २६ गतेसम्म भागवत कथा वाचन गर्नेछिन्। हालसम्म अनुराधा पाण्डे, देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, पं. दिनबन्धु पोखरेल लगायतका ख्यातिप्राप्त वाचकहरूले प्रवचन दिइसकेका छन्। देशविदेशबाट आएका साधु, सन्त, महन्तहरूको उपस्थिति महायज्ञमा विशेष आकर्षण बनेको छ।
धार्मिक अनुष्ठानहरूको समृद्ध श्रृङ्खला
महायज्ञ अवधिभर रक्तदान कार्यक्रम जारी छ। साथै तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराण, कालसर्प योग पूजा, सप्तवार व्रत, श्रीसूक्त पाठ, चण्डी पाठ, हनुमान चालीसा, शनि मृत्युञ्जय पाठ, गणेश सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन लगायतका धार्मिक अनुष्ठानहरू भइरहेका छन्।
मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार पितृ उद्धार, परिवारको सुख, स्वास्थ्य र समृद्धिका लागि २१ कोटी दीप प्रज्वलनसहितका विशेष पूजाहरूको व्यवस्था गरिएको छ।
कोटिहोम संचालन स्थल र अवधि
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको परिसर र आसपासका स्थानमा सञ्चालन भइरहेको कोटिहोम कार्यक्रम जेठ २६ गतेसम्म जारी रहनेछ।
















