लन्डनमा तेस्रो नेपाली चलचित्र महोत्सव सम्पन्न, सन्तोष पन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

-


     हिडन खबर    
     जेठ २० गते २०८२ मा प्रकाशित


लन्डन । थर्ड आइले बेलायतमा आयोजना गरेको तेस्रो नेपाली चलचित्र महोत्सव शनिबार सम्पन्न भएको छ। लन्डनको ग्रीनफोर्ड टाउन हलमा आयोजित समापन समारोहमा उत्कृष्ट चलचित्रहरू, नेपालबाट आएका विशिष्ट कलाकारहरू र बेलायतस्थित नेपाली कलाकारहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरियो।

फेस्टिभल अवार्डसहित चार उत्कृष्ट चलचित्र चयन

नेपाली फिल्म फेस्टिभल यूके २०२५ का लागि विश्वभरबाट प्राप्त ३९८ आवेदनमध्ये चार चलचित्र — पुजार सार्की, ज्वाइँसाब, सतीदेवी र हाफ जर्नी लाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको हो।

अवार्ड हस्तान्तरण समारोहमा एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्य, युवा उद्यमी यादव भण्डारी, नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ, पत्रकार नवीन पोखरेल लगायतले प्रमाणपत्रसहित ट्रफी प्रदान गरेका थिए। थर्ड आइका अनुसार यी चलचित्रहरू मे १८ देखि समापनसम्म बेलायतका विभिन्न शहरहरूमा प्रदर्शित गरिएका थिए।

वरिष्ठ कलाकार सन्तोष पन्तलाई जीवनभरको योगदानको सम्मान

तीन दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, टेलिभिजन र चलचित्रमा क्रियाशील वरिष्ठ कलाकार सन्तोष पन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। उक्त अवार्ड समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीई) र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्तरूपमा प्रदान गरेका थिए।

अन्य विशिष्ट कलाकारहरू पनि सम्मानित

नेपालबाट आएका कलाकारहरू विपना थापा, धिरेन शाक्य, निति शाह, आश्मा विश्वकर्मा, सुवानी मोक्तान, प्रताप दास, एलिस कार्की तथा बेलायतमा रहेका कलाकारहरू रितेश चाम्स, निकेश लिम्बु, प्रेम लामा र प्रतीक दूतराज (बेल्जियम) लाई नेपाली कलाकारितामा पुर्‍याएको योगदानका लागि विशेष अवार्ड प्रदान गरिएको हो।

उत्साहजनक सहभागिता, बृहत् सांगीतिक र नृत्य प्रस्तुति

समारोहमा गायक प्रताप दास र सुवानी मोक्तानको गायन तथा आश्मा विश्वकर्माको नृत्यले कार्यक्रमलाई झन् रंगीन बनाएको थियो। त्यसैगरी यूकेमा रहेका सरस्वती कुंवर र लक्ष्मण महराले पनि सांगीतिक प्रस्तुति दिएका थिए।

नेतृत्वको धारणा र आगामी योजना

कार्यक्रममा प्रमुख अतिथि डा. धितालले बेलायतमा नेपाली चलचित्रको प्रवर्द्धन र अन्तर्राष्ट्रियकरणका लागि थर्ड आइको प्रयासलाई प्रशंसनीय कदम भनेका थिए। चलचित्र विकास बोर्ड अध्यक्ष डिसीले आफूले नेतृत्व सम्हालेको ७ महिनाको अवधिमा बोर्डद्वारा थुप्रै सुधारात्मक कार्यहरू गरिएको जानकारी गराउँदै बक्स अफिस प्रणालीमा ‘रियल टाइम डेटा’, चलचित्र ऐन संशोधन तथा बनेपामा ठूलो इनडोर छायांकन स्टुडियो निर्माणजस्ता योजनाको चर्चा गरे।

आयोजक ओजेश सिंहले महोत्सवको उद्देश्य नेपाली कला-संस्कृतिको प्रवर्द्धन, अन्तर्राष्ट्रियकरण, बजार विस्तार र कलाकारको मनोबल अभिवृद्धि भएको बताए। थर्ड आइ अध्यक्ष विकास देवकोटाले कार्यक्रममा साथ दिने सबैप्रति आभार प्रकट गर्दै आगामी संस्करणहरू अझ परिष्कृत बनाउने प्रतिबद्धता जनाए।

कार्यक्रम सञ्चालन प्रसुना कंडेल र गायक राजेश बर्देवाले गरेका थिए।