
हिड्न खबर डट्कम
पोखरा, जेठ १७ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दो छ।
स्याङ्जा जिल्लाका पालिकाका प्रमुख र उपप्रमुखहरूले आइतबार कोटिहोममा सहभागिता जनाउँदै अनाथ बालबालिकाको अभिभावक बन्ने घोषणा गरेका छन्। गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराई र वालिङ उपप्रमुख कविता तिवारीले पालिकातर्फबाट जनही एक–एक लाख रुपैयाँ सहयोग गर्ने बताए। मानव सेवाका अन्य शीर्षकमा पनि सहयोग गर्न सकिने उनीहरूको भनाइ छ।
कोटिहोममा भक्तजन तथा जनप्रतिनिधिबाट दैनिकरूपमा आर्थिक सहयोग जुटिरहेको छ। हालसम्म अर्घाखाँची, कास्की, स्याङ्जालगायत जिल्लाका व्यक्तिहरूबाट लाखौँ रुपैयाँ र विभिन्न सामग्री सहयोग गरिएको प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले महायज्ञबाट प्रभावित भई अन्नपूर्ण गाउँपालिका, सल्यानका दुई व्यक्तिले झण्डै ९ रोपनी जग्गा दान गरेको बताए।
कोटिहोममा धार्मिक प्रवचन, रक्तदान, भजन, राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता र विभिन्न अनुष्ठानहरू सञ्चालनमा छन्। ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा देशभरका ९० प्रतियोगी सहभागी छन्।
मानव सेवा फाउन्डेसनद्वारा आयोजित कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। यस अभियानमार्फत ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग जुटाइँदैछ।













