अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा शर्मालाई बागलुङ कलाकार समाजको बधाई तथा भेटघाट कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     जेठ १६ गते २०८२ मा प्रकाशित


काठमाडौँ, जेठ १४ –
अन्तर्राष्ट्रिय बागलुङ समाजका नवनिर्वाचित अध्यक्ष गंगा शर्मालाई बागलुङ कलाकार समाज नेपालले विशेष सम्मान गर्दै राजधानी काठमाडौँमा भव्य कार्यक्रमको आयोजना गरेको छ।

“बधाई ज्ञापन तथा भेटघाट कार्यक्रम – २०८२” शीर्षकको सो समारोह काभेरी रेस्टुरेन्ट, बसुन्धरामा सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष शर्मालाई सम्मानित गर्दै बागलुङ कलाकार समाज नेपालका अध्यक्ष बसन्त थापाले समाजको रैथाने संस्कृति र गीत–संगीतको संरक्षणमा कलाकारहरूको भूमिका अतुलनीय रहेको बताए।

कार्यक्रममा बोल्दै गंगा शर्माले, “अबदेखि अन्तर्राष्ट्रिय बागलुङ समाजको हरेक अधिवेशन बागलुङमै आयोजना गर्ने निर्णय गरिएको छ,” भन्दै यस निर्णयले गाउँ र प्रवासको सम्बन्ध झनै मजबुत हुने विश्वास व्यक्त गरे। साथै उनले कलाकारहरूसँग समन्वयमा रही सामाजिक अभियानमा हातेमालो गर्दै अघि बढ्न चाहेको उल्लेख गरे।

पत्रकार राजेशचन्द्र राजभण्डारीले हाल प्रवास र स्वदेशका कलाकारहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाइसकेको उल्लेख गर्दै भने, “कलाकारहरू जहाँ जान्छन्, त्यहाँ सम्मान पाउँछन्, तर नेताहरू जहाँ जान्छन्, त्यहाँ विरोध… यो सामाजिक यथार्थ हो।”

उनले थपे, “समाज राम्रो बनाउने हो भने सबैले आ–आफ्नो ठाउँबाट इमानदारीपूर्वक योगदान गर्न जरुरी छ।”

समारोहमा बेल्जियम समाजकी सचिव जमुना आचार्य, कलाकार रेशम निर्दोष, तथा अन्य विशिष्ट व्यक्तित्वहरूले समेत बधाई तथा शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको अध्यक्षता बसन्त थापाले गरेका थिए भने राष्ट्रिय कलाकार श्रीकृष्ण बम मल्लले स्वागत मन्तव्य राखेका थिए। चर्चित कलाकार राजेश बर्दैवाले कार्यक्रम संचालन गरेका थिए।