
काठमाडौँ । नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। सकारात्मक समीक्षासँगै चलचित्रले वर्ड अफ माउथ (मौखिक प्रचार) बाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ।
निर्माण टिमका अनुसार दर्शकहरूले चलचित्रलाई आफ्नै घर–परिवारको कथा जस्तो अनुभूति गरिरहेका छन्। आम नेपालीको भोगाइसँग मेल खाने विषयवस्तु समेटिएकाले दर्शकहरूले सिनेमालाई मन पराएको प्रतिक्रिया दिएका छन्।
निर्देशक दीपेन्द्र के. खनाल भन्छन्, “जति पनि दर्शकले सिनेमा हेर्नुभएको छ, सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ। वर्ड अफ माउथ राम्रो भएकाले हेर्ने दर्शकको संख्या बढ्दै जाने विश्वास लिएको छौं।”
चलचित्रको ट्रेलर युट्युबमा ट्रेन्डिङमा रहेको छ। बुद्धिसागरको लेखनमा तयार भएको कथालाई निर्देशक खनालले पर्दामा उतारेका हुन्। चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ।
‘के घर के डेरा : घर नं २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएशनको संयुक्त प्रस्तुति हो। चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्। छायांकन कृष्णबहादुर थापाले गरेका हुन्।












