एकै दिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन

-


     हिडन खबर    
     जेठ ५ गते २०८२ मा प्रकाशित


पोखरा, हिड्न खबर — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार मात्रै झन्डै एक लाख भक्तजनको सहभागिता रहेको छ। प्रचार संयोजक लेखराज ढकालका अनुसार देशका ३५ भन्दा बढी जिल्लाबाट भक्तजनहरू कोटिहोम दर्शनमा आएका थिए।

भक्तजनको उल्लेखनीय उपस्थिति र श्रद्धाले पोखराको कोटिहोमलाई ऐतिहासिक, अद्वितीय र अविस्मरणीय बनाएको आयोजकहरूको भनाइ छ। महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले ४ गतेदेखि १३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। साथै युवा दार्शनिक चैतन्यकृष्ण महाराजले पनि कथा वाचन गर्ने छन्।

शनिबारको कार्यक्रममा जगद्गुरु शङ्कराचार्य स्वामी नरेन्द्रानन्द सरस्वती, महामण्डलेश्वर रामेश्वरानन्द सरस्वती लगायत ख्यातिप्राप्त सन्तहरूको प्रवचन तथा सन्देश, र विभिन्न कलाकारहरूको भजन प्रस्तुति रहे।

कोटिहोममा सहयोग गर्नका लागि स्थापना गरिएका सहयोग कक्षहरूमा भक्तजनहरूको भीड व्यवस्थापन चुनौतीपूर्ण देखिएको थियो। देउडा गायक नन्दकृष्ण जोशी, लोकगायिका राधिका हमाल, र पूर्णकला बिसीले भजनमार्फत भक्तजनलाई मन्त्रमुग्ध बनाए।

आगामी दिनहरूमा रमेश सापकोटा, राजु ढकाल, पल्पसा डंगोल (चम्सुरी), र राजेश हमालजस्ता कलाकारहरूको प्रस्तुति तय भएको छ। साथै, थारु समुदायको सांस्कृतिक झाँकी, दरौँ सिरुवारिबाट थाली नृत्य, राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता, चौरासी पूजन, पार्थिव शिवलिङ्ग निर्माण, दीप प्रज्वलन, तुला दान, शुभविवाह, रुद्राभिषेक लगायतका विविध धार्मिक र सांस्कृतिक गतिविधिहरू महायज्ञमा समावेश छन्।

४ सयभन्दा बढी ब्राह्मणद्वारा दैनिक आहुति दिइँदै आएको कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रम सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको छ।