‘के घर के डेरा : घर नं २’ दर्शकको मन जित्दै, वर्ड अफ माउथले पाउँदै गति

-


     हिडन खबर    
     जेठ ४ गते २०८२ मा प्रकाशित


काठमाडौं ।
नेपाली सिनेमाप्रेमीको मन्स्पटलमा आजदेखि प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र **‘के घर के डेरा : घर नं २’**ले उत्साहजनक प्रतिक्रिया पाउँदैछ। फिल्म रिलिज भएको पहिलो दिनमै **सकारात्मक ‘वर्ड अफ माउथ’**ले यसको यात्रा बलियो हुँदै गएको छ।

निर्देशक दीपेन्द्र के. खनालका अनुसार, “बिहानभन्दा बेलुकाका शोहरूमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ। वर्ड अफ माउथ बलियो बन्दै गएको छ। हेर्ने दर्शकले सिनेमा राम्रो लागेको प्रतिक्रिया दिइरहेका छन्।”

जीवनलाई कसरी जिउने भन्ने सन्देश बोकेको यो फिल्म दर्शकलाई मन परेको भन्दै खनाल भन्छन्, “हामीले प्रिमियरमा जस्तो प्रतिक्रिया पायौं, त्यही रफ्तार नियमित शोहरूमा पनि देखिएको छ। दर्शककै प्रतिक्रिया हाम्रो सबभन्दा प्रभावकारी प्रचार माध्यम बनिरहेको छ।”

१८० जना सर्वसाधारणलाई पास दिइ प्रिमियर शो गरिएको चलचित्रमा दर्शकले खुलेर प्रशंसा गरेका थिए। निर्देशक खनाल थप्छन्, “हामीले राम्रो फिल्म बनाउने हाम्रो जिम्मेवारी पूरा गरेका छौं। अब दर्शकको साथ र निष्पक्ष प्रतिक्रिया अपेक्षा गरेका छौं।”

बुद्धिसागरको कथा र खनालको निर्देशनमा बनेको यो बहु-तारे फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायत कलाकारको दमदार अभिनय देख्न पाइन्छ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुति रहेको फिल्ममा छायांकन कृष्णबहादुर थापाको छ। कार्यकारी निर्माता युवराज कार्की र निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।

चलचित्रको भावनात्मक गहिराइ र जीवनसँग जोडिने कथाले नेपाली दर्शकलाई सिनेमाघरसम्म तान्न सफल भएको देखिन्छ। अब के यो वर्ड अफ माउथले बक्स अफिसमा चमत्कार देखाउने हो ? त्यो हेर्न बाँकी छ।