
काठमाडौं । नेपाल र भारतमा गत शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘जार’ अब मध्यपूर्वका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आएको छ। निर्माण कम्पनी फेरि टेल पिक्चर्सका अनुसार, चलचित्रले मे १५ (बिहीबार)देखि युएई, कतार र बहराइनमा एकसाथ प्रदर्शन सुरु गरेको हो।
निर्देशक फुर्वा छिरिङ लामाले दिएको जानकारी अनुसार, चलचित्र युएईका दुबई, अबुधाबी, अज्मान र सारजाहका हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। त्यसैगरी, कतारको दोहा र बहराइनको मनामा लगायतका शहरहरूमा पनि ‘जार’ प्रदर्शन भइरहेको छ।
यही शुक्रबारदेखि चलचित्र अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका तथा युरोपका विभिन्न देशहरूमा पनि रिलिज हुने निर्देशक लामाले जनाएका छन्।
“नेपाल र भारतका दर्शक र समीक्षकबाट पाइरहेको माया र प्रतिक्रिया उत्साहजनक छ,” निर्देशक लामाले भने, “विदेशमा रहनुभएका नेपाली दर्शकहरूबाट पनि यस्तै समर्थन र सद्भावको अपेक्षा गरेका छौँ।”
२ सय वर्ष पुरानो नेपाली समाजको कथा बोकेको यो चलचित्र प्रख्यात साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित छ। यथार्थपरक कथा र सशक्त अभिनयको कारणले ‘जार’ले समीक्षक र दर्शक दुवैको प्रशंसा बटुलिरहेको छ।
चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको दमदार अभिनय देख्न पाइन्छ। चलचित्रको छायांकन सिक्किममा गरिएको हो। कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
सरवनन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादन तथा झुमा लिम्बू र गंगा थापाको संगीत रहेको यस सिनेमालाई नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेका छन्।










