१८० सर्वसाधारण दर्शकसहित ‘के घर के डेरा : घर नं २’ को ग्रान्ड प्रिमियर सम्पन्न

-


     हिडन खबर    
     जेठ २ गते २०८२ मा प्रकाशित


काठमाडौं । निर्देशक दीपेन्द्र के. खनाल निर्देशित बहुप्रतीक्षित चलचित्र ‘के घर के डेरा : घर नं २’ को विशेष प्रिमियर राजधानीमा सम्पन्न भएको छ। आम प्रचलन तोड्दै यसपटक १८० सर्वसाधारण दर्शकलाई र्याण्डम रूपमा निमन्त्रणा दिइएको प्रिमियरमा कलाकार, पत्रकार र निर्देशकहरूको समेत उपस्थिति थियो।

फिल्मपछि सर्वसाधारण दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइयो। “सामान्य नागरिकको कथा बोलेको, हँसाउने र रुवाउने सिनेमाले छुन सक्यो,” दर्शकहरूको प्रतिक्रिया थियो।

अभिनेता हरिवंश आचार्यले फिल्मको प्राविधिक पक्षको प्रशंसा गरे भने स्वस्तिमा खड्काले फिल्मलाई ‘मनछुने’ र ‘फेमिली भ्यालुजमा आधारित’ बताइन्। मनिषा कोइरालाले कथाले आफूलाई गहिरो छुन सक्यो भनिन् भने अन्जु पन्तले सम्बन्ध र भावनाको प्रस्तुति उत्कृष्ट रहेको जनाइन्।

“जस्तो सिनेमा छ, त्यस्तै प्रतिक्रिया सुन्न चाहेका हौं,” निर्देशक खनालले प्रिमियरको उद्देश्य प्रस्ट्याउँदै भने। नायक आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी लगायतको अभिनय रहेको फिल्म भोलिबाट देशभर प्रदर्शनमा आउँदैछ।

साहित्यकार बुद्धिसागरको पहिलो पटक लेखिएको स्क्रिप्टमा बनेको चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्टनटराज क्रिएसनको संयुक्त निर्माण हो।