एक वर्षपछि केकी अधिकारी पर्दामा फर्किँदै, ‘के घर के डेरा : घर नं २’ मा मुख्य भूमिका

-


     हिडन खबर    
     जेठ २ गते २०८२ मा प्रकाशित


काठमाडौं। अभिनेत्री केकी अधिकारी एक वर्षको ब्रेकपछि पुनः सेतो पर्दामा देखिन लागेकी छन्। निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘के घर के डेरा : घर नं २’ मार्फत केकी पुनः दर्शकमाझ फर्किन लागेकी हुन्।

केकीलाई अन्तिम पटक ‘बोक्सीको घर’ चलचित्रमा देखिएको थियो, जसमा उनले अभिनयका साथै निर्माण पनि गरेकी थिइन्। एउटै समयमा अभिनय र निर्माणको जिम्मेवारी सम्हाल्दा मानसिक तथा शारीरिक थकान भएकाले केही समय विश्राम लिएको उनी बताउँछिन्। अब भने आफूले चाहेजस्तै चलचित्रमा अभिनय गर्न पाएकोमा उनी उत्साहित छन्।

‘के घर के डेरा : घर नं २’ मा उनी मुख्य भूमिकामध्ये एकमा रहेकी छन्। यो चलचित्रमा निर्देशक खनालसँगको उनको पहिलो सहकार्य हो। “उहाँ आफैंमा अब्बल कथावाचक हुनुहुन्छ, तर यसअघि उहाँसँग काम गर्ने अवसर पाइएको थिएन,” केकीले भनिन्, “पहिलोपटक यति राम्रो सिनेमामा काम गर्न पाउँदा खुशी लागेको छ।”

चलचित्र गाउँबाट काठमाडौं सर्ने र यहाँ संघर्ष गर्ने पात्रहरूको कथा बोकेको छ। केकीका अनुसार, चलचित्र मौलिक नेपाली कथामा आधारित छ। उनले भनिन्, “घर हुने र घर बनाउन चाहनेहरूको कथा यो चलचित्रमा छ। काठमाडौंका कथा पनि नेपाली मौलिक कथा हुन्। नेपालीले विदेशमा वा विज्ञानको क्षेत्रमा गरेका संघर्ष पनि हाम्रै कथा हुन्।”

चलचित्रको सबभन्दा बलियो पक्ष भनेको यसको स्क्रिप्ट र निर्देशन भएको उनले बताइन्। लेखक बुद्धिसागरद्वारा लिखित यो पहिलो पटक फिल्म स्क्रिप्ट लेखिएको हो।

फिल्ममा केकी अधिकारीसँगै खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय रहेको छ।

‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको ब्यानरमा निर्माण भएको हो। कार्यकारी निर्माता युवराज कार्की रहेका छन् भने निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्। चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरेका छन्।