के घर के डेरा : घर नं २’ सेन्सरमै रुवाबासी, सबै उमेरका लागि हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट प्राप्त

-


     हिडन खबर    
     जेठ १ गते २०८२ मा प्रकाशित


काठमाडौं — निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘के घर के डेरा : घर नं २’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ। अब यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्।

सेन्सर बोर्डमा चलचित्र प्रदर्शन हुँदा केही भावनात्मक दृश्यहरूले सदस्यहरूलाई नै भावुक बनाएको थियो। कतिपयले आँखा रसाएका थिए। एक सदस्यले भने, “धेरै समयपछि मौलिक भावनाले भरिएको नेपाली सिनेमा हेर्न पायौं, केही दृश्यले मन छोयो।”

बुद्धिसागरको कथामा आधारित यस फिल्मले घर र डेराको परिवेशमा जीवनका अनुभवहरू चित्रण गर्छ। जेठ २ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी लगायत कलाकारको अभिनय रहेको छ।

‘के घर के डेरा : घर नं २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुति हो। कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। छायांकन कृष्णबहादुर थापाले गरेका हुन्।