‘जनै हराएको बाहुन’को छायांकन सकियो, विजय बराल भन्छन् – “धेरै ‘भयङ्कर मान्छे’सँग काम गरें”

-


     हिडन खबर    
     जेठ १ गते २०८२ मा प्रकाशित


काठमाडौं — चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को ३५ दिने छायांकन सम्पन्न भएको छ। निर्माण टिमले ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा इन्डक्ल्याप कार्यक्रम गरी जानकारी दिएको हो।

हिमाल न्यौपानेको निर्देशनमा बनेको यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिको जीवनमा आएका परिवर्तन र आमा–छोराबीचको भावनात्मक सम्बन्धलाई चित्रण गर्छ। निर्देशक न्यौपानेका लागि यो डेब्यु निर्देशन हो।

सशक्त स्टारकास्ट रहेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायतको प्रमुख भूमिका छ। अभिनेता बरालले कार्यक्रममा भने, “यो फिल्ममा धेरै ‘भयङ्कर मान्छे’सँग काम गर्न पाइयो। म त सामान्य पात्र परें।”

असोसियट निर्देशक मनिष राउतले चलचित्रमा जीवन र सम्बन्धका धागालाई जनैझैँ बुनेको बताए। निर्माता कमल र विमल न्यौपाने हुन् भने सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी छन्।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। संगीतमा प्रसान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेल छन्। चलचित्र भदौ तीजको अवसर पारेर प्रदर्शन गर्ने तयारी भए पनि मिति भने तय भइसकेको छैन।