
राजेशचन्द्र राजभण्डारी
बागलुङ, वैशाख ३०
नेपाल शिक्षक संघ, बागलुङले आफ्नो ३६औं स्थापना दिवसको अवसरमा जिल्लाभरिका सामुदायिक विद्यालयमा अध्ययनरत १४ जना कक्षा ८ का उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ।
विद्यार्थी र अभिभावकमाझ सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यसहित संघले बागलुङका ४ नगरपालिका र ६ गाउँपालिकाबाट स्थानीय तहमा उत्कृष्ट अंक प्राप्त गरेका १४ जना विद्यार्थीलाई नगद ५ हजार रुपैयाँ र सम्मान–पत्रसहित विद्यालयमै पुगेर सम्मान गरेको हो।
बागलुङ नगरपालिकातर्फबाट श्री रूद्रेपिपल माध्यमिक विद्यालयकी कक्षा ८ की विपिशा परियारलाई उत्कृष्ट नतिजा ल्याएको भन्दै नगदसहित पुरस्कृत गरिएको नगर संयोजक घनश्याम रिजालले जानकारी दिए।
उनका अनुसार, “विद्यार्थीलाई सिकाइमा प्रेरित गर्नु, सृजनशीलता अभिवृद्धि गर्नु र शिक्षक–विद्यार्थी सम्बन्धलाई अझ सुमधुर बनाउन यो कार्यक्रम सुरु गरिएको हो। अब हरेक वर्ष यसलाई निरन्तरता दिइनेछ।”
पुरस्कृत विद्यार्थी विपिशा परियारले पुरस्कार पाउँदा आफू उत्साहित भएको बताउँदै भनिन्, “सामुदायिक विद्यालयमै पढेर राम्रो नतिजा ल्याउँदा सम्मान पाउनु गर्वको कुरा हो। यसले अझ मेहनत गर्न प्रेरणा दिएको छ।”
नेपाल शिक्षक संघ बागलुङ नगर सचिव दुर्गा न्यौपानेले यसपटक स्थापना दिवसलाई स्मरणीय बनाउने उद्देश्यले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको बताए।
श्री रूद्रेपिपल माध्यमिक विद्यालयका शिक्षक मुकुन्द शर्माले आफ्ना विद्यालयका विद्यार्थीले हरेक वर्षजस्तै यसपालि पनि नगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याएको र विद्यालयसम्मै सम्मान आइपुग्दा थप उत्साह मिलेको धारणा राखे।
पुरस्कृत विद्यार्थी सूची (स्थानीय तहअनुसार):
बागलुङ नगरपालिका — ४ जना
काँठेखोला गाउँपालिका — २ जना
गल्कोट नगरपालिका — १ जना
जैमूनी नगरपालिका — १ जना
ढोरपाटन नगरपालिका — १ जना
तमानखोला गाउँपालिका — १ जना
निसीखोला गाउँपालिका — १ जना
ताराखोला गाउँपालिका — १ जना
बरेङ गाउँपालिका — १ जना
हरेक स्थानीय तहबाट एक–एक जना कक्षा ८ का विद्यार्थी छनोट गरी सम्मान गरिएको हो।
संघले आज साँझ ६:३० बजे लोकतान्त्रिक चोकमा दिप प्रज्वलन कार्यक्रमसमेत राखेको छ, जसअन्तर्गत विश्व शान्तिकाे कामना गरिनेछ।
















