गण्डकी कोटिहोममा दिनबन्धुको प्रवचन सुरु, भोलि लिङ्देनको उपस्थिति

-


     हिडन खबर    
     वैशाख २८ गते २०८२ मा प्रकाशित


पोखरा — पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन आइतबारदेखि सुरु भएको छ। उनले आगामी जेठ ३ गतेसम्म कथा वाचन गर्नेछन्।

शनिबार वाल्मीकि श्रीरामकथा वाचक पं. पराकुशजीको विदाइसँगै दिनबन्धुको प्रवेश भएको हो।

भोलि बुद्ध पूर्णिमाको अवसरमा भव्य कार्यक्रम गरिँदै छ, जसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थिति रहनेछ। हिन्दू, बौद्ध, किरातलगायत धर्मगुरुहरू, सांस्कृतिक प्रस्तुति तथा प्रवचन कार्यक्रम समावेश गरिनेछ।

महायज्ञका संकल्पकर्ता विजयश्री कृष्णमूर्ति जी महाराजले धर्मलाई समन्वयको प्रतीकका रूपमा व्याख्या गरेका छन्। कार्यक्रममा डा. चिन्तामणि योगी, पत्रकार महासंघका पूर्व अध्यक्ष बिपुल पोखरेललगायत विशिष्ट अतिथि तथा लोकगायिका पूर्णकला बिसी र भूमिका गिरीको प्रस्तुति रहेको थियो।

आइतबारसम्म २ सय बढीले रक्तदान गरेका छन्। आयोजकका अनुसार भक्तजनमा सकारात्मक ऊर्जा र सहयोग भावना फैलाउने उद्देश्य राखिएको छ।