
काठमाडौं, वैशाख २७ — शुक्रबारबाट नेपाल र भारतमा एकैसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जार’ भारतका नेपाली भाषी क्षेत्रमा हिट भएको छ। सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा दर्शकको चाप बढेपछि थुप्रै मल्टिप्लेक्सले शोज थप्न थालेका छन्। सिलिगुडीको आइनक्स हलमा पहिलो दिनदेखि नै शोज विस्तार गरिएको कार्यकारी निर्माता ज्योती क्षेत्रीले जानकारी दिइन्।
दोस्रो चरणमा मिरिक, आसाम, देहरादून, दिल्ली, कोलकाता लगायतका सहरमा प्रदर्शन हुँदैछ। उता नेपालमा पनि ‘जार’ले दर्शक र समीक्षकबाट प्रशंसा बटुल्दैछ। काठमाडौंका क्यूएफएक्स र रञ्जना सिनेमाज्जस्ता हलहरूमा पुगेका सौगात मल्ल र अनुपविक्रम शाही दर्शकको सेल्फी र अटोग्राफ अनुरोधले व्यस्त भए।
चलचित्रको कथा, दृश्य, संगीत र निर्देशन सबै पक्षमा दर्शकबाट ‘एक्सेलेन्ट’ प्रतिक्रिया आएको छ। निर्देशक फुर्वा छिरिङ लामालाई ठमेलको छायाँ सेन्टरमा एक दर्शकले वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रलाई बधाई दिँदै उपन्यास उपहारसमेत दिए। निर्देशक लामाले यो माया र समर्थन भविष्यमा पनि निरन्तर रहने आशा व्यक्त गरे।
‘जार’मा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा मुख्य भूमिकामा छिन्। नेपालमा फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेका छन्।









