
पोखरा, वैशाख २७ — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ शुक्रबार विशेष आकर्षणका साथ सम्पन्न भयो। साधु–सन्त, हास्यकलाकार, लोकगायक–गायिकाको उपस्थिति र भक्तजनको उत्साहले कार्यक्रम उल्लासमय बनेको छ।
चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली, गायिका समीक्षा अधिकारी, पार्वती जिसीलगायत कलाकारहरूको प्रस्तुति र भजनले धार्मिक वातावरण सजीव बनाएको थियो। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्य प्रमुख अतिथि रहनुभयो।
टोखा नगरपालिका प्रशासकीय प्रमुख शेरबहादुर बिसीले आफ्नै भजनको भिडियो विमोचन गर्दै २५ हजार रुपैयाँ दान गर्नुभएको छ। अन्य भक्तजनबाट लाखौँ रुपैयाँको दान प्राप्त भएको आयोजकले जनाएका छन्।
शनिबार १ हजारभन्दा बढी बालिकासहित कन्या पूजा, १ हजार ज्येष्ठ नागरिकलाई सम्मान, पशुपति शर्मा र राधिका हमालको भजन, विशेष साडी तिक कार्यक्रम र आइतबार अस्मिता डल्लाकोटिको प्रस्तुति हुनेछ।
महायज्ञमा कथा वाचन, रामायण प्रवचन, राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता, रक्तदान, भजन प्रतियोगिता, झाँकी र देव लीलाजस्ता विविध कार्यक्रम भइरहेका छन्। कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।









