कोटिहोममा भक्तजनको घुइँचो, भोलि समीक्षा अधिकारीको विशेष प्रस्तुति

-


     हिडन खबर    
     वैशाख २६ गते २०८२ मा प्रकाशित


पोखरा, वैशाख २६ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा दैनिकजसो भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ। “जे जसले सक्छ, त्यो त्यहीँ दान” भन्ने भावनासहित भक्तजनले आर्थिक सहयोगदेखि दैनिक सामग्रीसम्म योगदान गरिरहेका छन्।

गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङले ५१ हजार रुपैयाँ, पोखरा–१५ का दिननाथ तिमिल्सिनाले २५ हजार ५, र राधिका खत्रीले २५ हजार २५ रुपैयाँ कोटिहोममा दान गरेका छन्।

महायज्ञमा वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले “शास्त्र हराए संस्कार हराउँछ” भन्दै हिन्दू राष्ट्रको वकालत गर्दै मन्तव्य दिएका थिए।

विशेष आकर्षण: समीक्षा अधिकारी र पशुपति शर्मा

कोटिहोममा शुक्रबार पोखरेली गायिका समीक्षा अधिकारीको भजन प्रस्तुति हुनेछ भने शनिबार लोकगायक पशुपति शर्मा र राधिका हमालको विशेष सांगीतिक कार्यक्रम रहने प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए। आइतबार लोकदोहोरी गायिका अस्मीता ढल्लाकोटीको प्रस्तुति रहनेछ।

विद्यार्थीलाई खुल्ला वक्तृत्व प्रतियोगिता

“सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” शीर्षकमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूका लागि राष्ट्रव्यापी वक्तृत्व प्रतियोगिता आयोजना हुने भएको छ। विजेताहरूलाई ५१ हजारदेखि २१ हजारसम्मको पुरस्कार प्रदान गरिनेछ।

विशेष पूजाहरू: बालिका पूजा, चौरासी पूजन, दीप प्रज्वलन

वैशाख २७ गते १ हजारभन्दा बढी बालिकासहित कन्या पूजा गरिनेछ भने २९ गते चौरासी पूजन कार्यक्रम हुनेछ। साथै, पितृ उद्धार र पारिवारिक कल्याणका लागि २१ कोटि दीप प्रज्वलन तथा तुला दानका कार्यक्रम पनि तय छन्।

महायज्ञमा ४ सयभन्दा बढी ब्राह्मणद्वारा दैनिक आहुति

मानव सेवा फाउन्डेसनका अनुसार, ४ सयभन्दा बढी ब्राह्मणले दिनहुँ हवनमा आहुति दिइरहेका छन्। सय कुण्डीय हवनमा जौ, तिल, घिउ आदि सामग्री दान गर्न सकिनेछ।

प्रवचनमा दिग्गजहरू सहभागी

प्रवचन श्रृंखलामा पं. दिनबन्धु पोखरेल, राधिका दासी, देवी चन्द्रकला सखी र चैतन्यकृष्ण महाराजको वाणी सुन्न पाइनेछ।