
ललितपुरको क्यूएफएक्स लाभिम हलमा चलचित्र ‘जार’ को भव्य प्रिमियर सम्पन्न भएको छ। सिक्किम र सिलिगुडीमा सफल प्रिमियरपछि नेपालमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, विपिन कार्की, केकी अधिकारी, नेतृ हिसिला यमी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
इन्द्रबहादुर राईको कथामा आधारित यो चलचित्र २२५ वर्ष पुरानो सामाजिक पृष्ठभूमिमा आधारित छ। चलचित्रले संस्कृति, प्रेम, वीरता र सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरेको भन्दै प्रिमियरमा प्रशंसा बटुल्यो।
डा. भट्टराईले ‘जार’ लाई पूर्ण मौलिक चलचित्र भन्दै नयाँ पुस्ताले नेपाल र जार प्रथाको इतिहास बुझ्न यो सिनेमा हेर्नुपर्ने बताए। सांसद जबराले चलचित्रलाई उत्कृष्ट सामाजिक सन्देश बोकेको कृति भन्दै समर्थन जनाए।
अभिनेत्री मनिषा कोइरालाले ‘जार’ नेपाली सिनेमाको स्तरीय प्रगतिको प्रमाण भएको बताइन्। निर्देशक फुर्वा छिरिङ लामाको आत्मविश्वास र कलाकारहरूको अभिनयको सबैले तारिफ गरे।
अभिनेता सौगात मल्लले यो फिल्म २७ वर्षदेखिको आफ्नो सपना रहेको बताए। अनुपविक्रम शाहीले ऐतिहासिक घटनालाई पर्दामा उतारिएकोमा दर्शकको साथको अपेक्षा राखे।
‘जार’ वैशाख २६ गतेदेखि नेपाल, भारत र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ प्रदर्शन हुँदैछ।









