‘केही भनेकै छैन’ सार्वजनिक: सुदिप र शान्ती श्रीको मन छुने लोकदोहोरी

-


     हिडन खबर    
     वैशाख २३ गते २०८२ मा प्रकाशित


काठमाडौं।
लोकप्रिय गायक सुदिप अधिकारी र चर्चित गायिका शान्ती श्री परियारको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ। सुदिप अधिकारीको अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतका शब्द र संगीत स्वयम् सुदिप अधिकारीले तयार पारेका हुन्। कमल सौरागको संगीत संयोजनमा तयार भएको गीतमा कुमार राना मगरको मिक्सिङ र मास्टरिङ रहेको छ। रेकर्डिङको जिम्मा खुमन राना र सुमन रानाले सम्हालेका छन्।

भिडियो पक्षमा पनि गीत सशक्त छ। ओवी रायमाझी र जुना विश्वकर्माको मुख्य अभिनय रहेको भिडियोको छायांकन सुदिप बरालले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन्।

गाउँले परिवेश र प्रेम कथा:
लेकबेसी, गोठालो र पानी पँधेरो जस्ता ग्रामीण परिवेशमा खिचिएको भिडियोले गाउँको मौलिकता मात्र होइन, युवायुवतीबीचको निश्चल प्रेम, छुट्टिने पीडा र प्रेमिल कल्पनालाई जीवन्त रुपमा उतारेको छ।

गीतले प्रेममा गहिरिएको एक जोडीको आत्मीय संवादलाई संगीतमय रुपमा प्रस्तुत गरेको छ, जसले दर्शक/श्रोताको मन छुन सक्नेछ।