
को हुन् ‘जार’की अभिनेत्री गीताञ्जली थापा ?
जिनका सिनेमाले विश्वभर फन्को मारिसकेका छन्
काठमाडौं । नेपाली कथानक चलचित्र जार वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ। सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा छन्।
चलचित्र जारमार्फत अभिनेत्री गीताञ्जली थापा नेपाली दर्शकमाझ नयाँ अनुहारका रूपमा प्रस्तुत हुँदैछिन्। नेपाली सिनेमामा उनको नाम दोहोरिएको नदेखिए पनि उनी एक प्रतिभाशाली र अनुभवी कलाकार हुन्। भारतमा उनले अभिनयमार्फत उच्च स्थान बनाइसकेकी छिन्।
गीताञ्जली थापा राष्ट्रिय फिल्म पुरस्कार (National Film Award) विजेता हुन्। उनले अभिनय गरेको लायर्स डाइस चलचित्रबाट भारत सरकारद्वारा उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी हुन्।
त्यसैगरी, नेटफ्लिक्सको चर्चित वेब सिरिज सेक्रेड गेम्समा पनि उनी देखिइसकेकी छन्। उनका फिल्महरू टोरन्टो, बुसान, लस एन्जलस, न्यूयोर्कजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भइसकेका छन्।
निर्माण पक्षका अनुसार गीताञ्जलीको अभिनयले जारलाई थप गहिराइ र विश्वसनीयता दिएको छ। नयाँ र ताजा अनुहारमार्फत कथा प्रस्तुत गर्दा दर्शकलाई कथामा प्रवेश गर्न सजिलो हुन्छ, जुन पक्ष यस चलचित्रको विशेषता बनेको छ।
जार सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित छ। चलचित्र चर्चित साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ, जसलाई निर्देशक फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन्।
चलचित्रले एक प्रेमकथाको माध्यमबाट त्यस समयको सामाजिक संरचना र मानवीय भावना तथा जटिलता उजागर गर्नेछ। निर्देशक लामाका अनुसार यो चलचित्र सामाजिक विषयवस्तुमा आधारित भए पनि सम्पूर्ण मनोरञ्जनात्मक प्याकेज हो।
चलचित्रको छायांकन सिक्किममा गरिएको हो। जार होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो। कार्यकारी निर्माताहरूमा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
छायांकन सरवनन इलावार्सुले गरेका हुन् भने सम्पादन अखिलेश राईको रहेको छ। संगीतमा झुमा लिम्बू र गंगा थापाको योगदान रहेको छ।
चलचित्रको ग्राण्ड वर्ल्ड प्रिमियर सिक्किममा सम्पन्न भइसकेको छ, जहाँ स्थानीय दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
दर्शकले चलचित्रको कथा, अभिनय, निर्देशन, छायांकन र प्रविधिक पक्षको खुलेर प्रशंसा गरेका छन्। निर्देशक साम्तेन भुटियाले भने, “इन्द्रबहादुर राईको कथामा आधारित सिनेमाले पूर्ण न्याय गरेको छ। अभिनय, निर्देशन र प्राविधिक पक्षहरू सशक्त छन्। धेरै दृश्यहरू संवादबिनै प्रभावशाली छन्, जसले निर्देशकको सिर्जनशीलता देखाउँछ।”
जार नेपाल, भारत तथा अन्तर्राष्ट्रिय बजारमा एकैसाथ प्रदर्शन हुने जानकारी निर्माण टिमले दिएको छ। नेपालमा चलचित्रको वितरण जिम्मेवारी एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।
















