
काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशको मानव विकास सूचकांक सुधार गर्न कृषि, पर्यटन र पूर्वाधारमा प्राथमिकता दिएर योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आज काठमाडौँमा सम्पन्न अन्तर्क्रियामा मन्त्री डा. राणाले सुदूरपश्चिम अहिले छैटौँ स्थानमा रहेकाले योजनाबद्ध विकासमार्फत सूचकांकमा उल्लेखनीय सुधार ल्याउन सकिने बताउनुभयो।
उहाँले बजेट कनिका छर्ने शैलीमा नभई, प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो। कृषि उत्पादनलाई व्यवसायिक र आधुनिकरण गर्दै बजार पहुँच विस्तार गर्नुपर्ने र बाँझिएको जमिनको सदुपयोगका लागि योजना बनाउनुपर्ने उहाँको भनाइ थियो।
पर्यटन प्रवर्द्धनका लागि ‘हस्पिटालिटी’ पूर्वाधारमा लगानी बढाउनुपर्ने र निजी क्षेत्रलाई आकर्षित गर्न सामूहिक पहल आवश्यक रहेको मन्त्री राणाको भनाइ छ। स्थानीय तहले पनि आ–आफ्ना सांस्कृतिक र पर्यटकीय सम्पदालाई उजागर गर्न सक्रिय भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो।










