
काठमाडौं। ऐतिहासिक कथामा आधारित नेपाली चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। निर्माण पक्षका अनुसार ‘जार’ विषयवस्तु र प्रस्तुतिका हिसाबले केही फरक रहेको बताइएको छ।
चलचित्र ‘जार’ करिब २२५ वर्षअघिको सामाजिक यथार्थमा आधारित छ। सन् १८०० को दशकमा नेपाली समाजमा घटेको एउटा साँचो घटनालाई चलचित्रको विषय बनाइएको निर्देशक फुर्वा छिरिङ लामाले बताए।
यो चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित हो। राईले सन् १८०० को दशकको समाजलाई आफ्ना कथाको केन्द्र बनाएका थिए। निर्देशक लामाका अनुसार, “यो कथा मैले सानैदेखि सुन्दै आएको हुँ। नेपाली भाषी समुदाय जहाँसुकै पुगे पनि, यसभित्रको भावना समान देखिन्छ।”
‘जार’ले हराउँदै गएका परम्परा र सामाजिक सम्बन्धका विविध आयामलाई उजागर गर्दै इतिहाससँग साक्षात्कार गराउने प्रयास गरेको छ। चलचित्रले तत्कालीन समाजको संरचना, प्रेम, निर्दोषता र ‘मितेरी साइनो’ जस्ता परम्परालाई गहिरो रुपमा चित्रण गर्नेछ।
लामाले भने, “हालका पुस्तामा यो विषय अलि ओझेल परेको भए पनि, त्यतिबेलाको समाजमा यसको ठूलो प्रभाव थियो। ‘जार’ केवल इतिहास सुनाउने माध्यम होइन, हाम्रो संस्कृतिको अदृश्य धागो भेटाउने प्रयास पनि हो।”
‘जार’ प्रेमकथामार्फत तत्कालीन सामाजिक जटिलता र मानव भावनाको गहिरो चित्रण गर्नेछ। चलचित्रका मुख्य पात्र ‘ठूली’ र ‘रुद्रमान’ मार्फत प्रेम र सामाजिक कठोरताको वास्तविकता देखाइनेछ।
सामाजिक विषयवस्तुमा आधारित भए पनि ‘जार’ एक पूर्ण प्याकेज चलचित्र भएको निर्देशक लामाको दाबी छ। उनी चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क छन्।
फेरि टेल पिक्चर्सको ब्यानरमा बनेको ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, र गीताञ्जली थापा मुख्य भूमिकामा छन्। चलचित्रको छायांकन सिक्किममा गरिएको हो।
‘जार’का कार्यकारी निर्माताहरूमा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन्। चलचित्रको छायांकन सरवानन इलावरसुले गरेका छन् भने सम्पादन अखिलेश राईले गरेका छन्। संगीतमा झुमा लिम्बू र गंगा थापाको योगदान रहेको छ।
चलचित्र ‘जार’ नेपाल, भारत तथा अन्तर्राष्ट्रिय बजारमा एकै साथ प्रदर्शनमा ल्याइनेछ। नेपालमा वितरणको जिम्मा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् भने अन्तर्राष्ट्रिय वितरण सेभेन सिज सिनेमाले गर्नेछ।















