गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि पोखरामा साइकल र्याली सम्पन्न

-


     हिडन खबर    
     वैशाख १२ गते २०८२ मा प्रकाशित


पोखरा, वैशाख ११ — पोखरा १७, बिरौटामा सञ्चालन भइरहेको श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार र सामाजिक–धार्मिक सद्भाव फैलाउन आज बिहान भव्य साइकल र्याली सम्पन्न भएको छ।

र्यालीको उद्घाटन साइक्ल सिटी पोखराका पूर्व सदस्य तथा लायन्स अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ एलका सेकेन्ड भाइस गभर्नर तेज नारायण पराजुलीले गरेका थिए। र्याली बिरौटा कोटिहोम स्थलबाट सुरु भई ड्यामसाइड, लेकसाइड, जिरोकिलोमिटर, महेन्द्रपुल, पृथ्वीचोक हुँदै पुनः बिरौटा फर्किएको थियो।

र्यालीमा सयौं स्थानीय, युवा र साइक्लिङप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। महायज्ञका संकल्पकर्ता विजयकृष्ण मूर्तिले र्यालीले इन्धन बचत, स्वास्थ्य र पर्यटन प्रवर्द्धनमा सकारात्मक संदेश दिएको बताए।

मानवसेवा फाउण्डेशनले महायज्ञ प्रचारार्थ वैशाख १२ मा मोटरसाइकल, १३ मा ट्याक्सी, १४ मा डुङ्गा र १६ गते बृहत् कशेली यात्रा आयोजना गर्ने जनाएको छ।

कोटिहोम महायज्ञ वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा १७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर क्षेत्र र आसपासमा सञ्चालन हुनेछ। कार्यक्रममा भागवत कथा, यज्ञ, प्रवचन, भजन, आरती र सांस्कृतिक कार्यक्रमहरू समावेश छन्। आयोजकका अनुसार महायज्ञ धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण हुनेछ।