
काठमाडौं – चर्चित निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘कोशेढुङ्गा’ को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार फिल्मको पोस्टर सार्वजनिक गर्दै भदौ १२ गते रिलिज मिति समेत घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। उनी एक गाउँले घरको आँगनमा उभिएर पछाडि फर्केर हेर्दै गरेको अवस्थामा देखिन्छिन्, जसले उनलाई नवविवाहित युवतीझैं देखाउँछ। पोस्टरमा देखिएको परिवेश — ओइलिएको आँगन, पहाडी घर र बादलको घुम्टोले ढाकिएको पृष्ठभूमिले चलचित्रको कथावस्तुबारे अनेकौं अनुमान गराउँछ।
कुनै समयसम्म छोडिएको जस्तो देखिने त्यो घर, र सहरबाट फर्किएर गाउँमा केही नयाँ सुरुवात गर्ने प्रयासले भरिएको कथा हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, निर्देशक पौडेलले कथाको विवरण खुलाएका छैनन्।
“पोस्टरले केही संकेत दिन खोजेको छ। तर, अहिलेका लागि हामी त्यति मात्रै खुलाउँछौं,” निर्देशक सरोज पौडेल भन्छन्, “कथाको अन्य पाटाहरू हामी क्रमशः सार्वजनिक गर्दै जानेछौं।”
‘कोशेढुङ्गा’ मा सुरक्षासँगै आर्यन सिग्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, सिरु विष्ट, शेखर चापागाईं, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल लगायत कलाकारहरूको अभिनय रहनेछ। महिला केन्द्रित यो चलचित्रमा सुरक्षा पन्त मुख्य भूमिकामा देखिनेछिन्।
चलचित्र नरदेवी फिल्म्स को प्रस्तुति हो। प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्।
बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, संगीतमा आशिष अविरल र रिदम कँडेलको संयोजन रहेको छ। कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।
‘पूर्ण बहादुरको सारङ्गी’ मार्फत ४७ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्शन गर्दै सफल निर्देशकको छवि बनाएका सरोज पौडेलको निर्देशनमा बनेकाले ‘कोशेढुङ्गा’ प्रति दर्शकको चासो निकै उच्च छ।
निर्माणपक्षका अनुसार, यो चलचित्र नेपालसँगै विश्व बजारमा एकसाथ प्रदर्शनमा ल्याइनेछ।









