
पोखरा, वैशाख १०
पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले वैशाख ११ गते बिहान ७ बजे साइकल र्यालीको आयोजना गर्ने भएको छ।
बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने यो र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बागलुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो विमानस्थल हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन हुने छ।
महायज्ञका संकल्पकर्ता विजयकृष्ण मूर्ति महाराजका अनुसार, यो साइकल र्यालीले स्वास्थ्य, वातावरण, र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण सन्देश प्रवाह गर्नेछ। साइक्लिङमार्फत इन्धनको बचत, मानव स्वास्थ्यमा सकारात्मक प्रभाव, तथा पोखरा भ्रमण वर्ष २०२५लाई प्रवर्द्धन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। साथै, सम्पूर्ण पोखरेलीहरूलाई र्यालीमा सहभागी भई अभियान सफल बनाउन हार्दिक अनुरोध पनि गर्नुभयो।
मानवसेवा फाउण्डेशनले महायज्ञको प्रचारका लागि अन्य कार्यक्रमहरू पनि आयोजना गर्दैछ। वैशाख १२ गते मोटरसाइकल र्याली, वैशाख १३ गते ट्याक्सी र्याली, वैशाख १४ गते फेवातालमा डुङ्गा र्याली, र वैशाख १६ गते बृहत् कशेली यात्रा हुने बताइएको छ।
यस साइकल र्यालीमार्फत धार्मिक, सामाजिक र पर्यटकीय सन्देशलाई एकैसाथ प्रवाह गर्दै पोखराको सांस्कृतिक र पर्यटकीय महत्व उजागर हुने अपेक्षा गरिएको छ।

















