
पोखरा – झन्डै दुई दशकसम्म पोखरामा बसेर लोक तथा दोहोरी गीतको क्षेत्रमा सक्रिय रहिएकी लोकप्रिय गायिका ज्योती लोहनी जापान प्रस्थान गरेकी छन्।
रोजगारी र अध्ययनको सिलसिलामा दैनिक सयौं नेपाली युवा विदेशिन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र माला लगाएर आफन्तहरूसँग विदा लिँदै विदेश जानेहरूको भिड सामान्य दृश्य बनिसकेको छ। पछिल्लो समय कलाकर्मीहरूको समेत विदेश पलायन बढ्दै गइरहेको छ।
त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीकी वर्तमान महिला सचिव समेत रहेकी गायिका लोहनीले जापानलाई आफ्नो कर्मथलो बनाउने निर्णय गरेकी हुन्। यद्यपि, जापान पुगेपनि उनले संगीत यात्रालाई भने निरन्तरता दिने बताएकी छन्।
गायिका लोहनी भन्छिन्, “देशमा कलाकर्मीका लागि स्थायित्वको अभाव छ। तर, विदेशमा बसेर पनि गीत–संगीतलाई निरन्तर अघि बढाउने योजना छ।”
उनका ‘पापी माया’, ‘अंगुर पाकेको’, ‘आँधिखोले माया’, ‘मनै छुने रहिछ’, ‘कुरा आफैं बुझ मायाले’, ‘रातो सारीले’, ‘रैछौ चिटिकै’, ‘एक्का चिडिकै’, ‘बागलुङ बजार आउँका मायालु’, ‘कैली र कैलाको’, ‘जापानिज सारी’ लगायत दर्जनौं गीतहरू श्रोतामाझ निकै लोकप्रिय छन्।
कलाकर्मलाई निरन्तरता दिँदै विदेशमा रहेर नेपाली गीत–संगीतको सेवा गर्ने उनको अठोट साच्चिकै प्रेरणादायी छ।













