
५ वैशाख, २०८२ – सिन्धुपाल्चोक :
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिन्धुपाल्चोकस्थित तातोपानी नाका र त्यहाँको भन्सार कार्यालयको निरीक्षण गर्दै नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन्।
नेपाल–चीन व्यापारिक सम्बन्धका लागि अत्यन्तै महत्वपूर्ण मानिने तातोपानी नाकाबाट वार्षिक रु २० अर्बभन्दा बढी राजस्व संकलन हुने गरेको छ। सोही सन्दर्भमा भन्सार कार्यालयको स्थलगत निरीक्षणपछि मन्त्री डा. राणाले नेपाल सरकार यस नाकाको स्तरोन्नति तथा सुधारका लागि आवश्यक पहल गर्ने बताइन्।
उनले पर्यटन प्रवर्द्धनको दृष्टिकोणले पनि तातोपानी नाका महत्वपूर्ण रहेको उल्लेख गरिन्। “यहाँबाट चीनको धार्मिक तथा पर्यटकीय स्थल मानसरोवरसम्मको पहुँच सहज हुने भएकाले यो नाकालाई व्यवस्थित बनाउनु आवश्यक छ,” उनले भनिन्।
त्यस अवसरमा मन्त्री राणाले काठमाडौँ–कोदारी राजमार्गसहित तातोपानी नाकासँग जोडिएका अन्य सडकहरूको स्तरोन्नति गर्नसमेत सरकार गम्भीर रहेको जानकारी दिइन्। निरीक्षणका क्रममा उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूसँग परामर्श लिई नाकाको समग्र सुधारका लागि आवश्यक तयारी थालिने बताइन्।