‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा, निर्देशक भन्छन्– यो सिक्वेल होइन

-


     हिडन खबर    
     वैशाख ५ गते २०८२ मा प्रकाशित


काठमाडौं:
निर्देशक दीपेन्द्र के. खनाल निर्देशित नयाँ नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। केही दिनअघि सार्वजनिक टिजरले दर्शकमा उत्सुकता जगाएको यो चलचित्रलाई लिएर अहिले चर्चाको विषय बनेको छ।

चलचित्रको नामले दुई वर्षअघि रिलिज भएको ‘के घर के डेरा’ को सिक्वेलझैं देखिए पनि निर्देशक खनालले यसलाई सिक्वेल नभएको स्पष्ट पारेका छन्। “यो के घर के डेरा को सिक्वेल होइन,” खनाल भन्छन्, “घर र डेराको विषय उठाइएको भए पनि यो पूर्णरूपमा नयाँ कथा हो।”

खनालका अनुसार ‘के घर के डेरा : घर नं २’ सामाजिक यथार्थमा आधारित सोसल ड्रामा हो। यसअघिको फिल्म हास्यप्रधान भए पनि यो चलचित्रमा उनले आफ्नै मौलिकता झल्किने शैलीमा कथा प्रस्तुत गरेका छन्। “यसमा मेरो ओरिजिनल फ्लेवर आउँछ। यो फिल्ममार्फत म फेरि आफ्नै जनरामा फर्किएको छु,” खनालको भनाइ छ।

चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका छन्, जुन उनको पहिलो पटक लेखिएको स्क्रिप्ट हो। बुद्धिसागर ‘कर्णाली ब्लुज, फिरफिरेएक्लो’ जस्ता चर्चित उपन्यासका लेखक हुन्।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायत कलाकारको अभिनय रहेको छ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माता छन् भने युवराज कार्की कार्यकारी निर्माता हुन्। चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरेका हुन्।