
बागलुङ । उद्योग वाणिज्य संघ बागलुङको आगामी चैत १६ गते हुने अधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नयाँ नेतृत्व चयनका लागि चैत १५ र १६ गतेका लागि तय गरिएको उद्योगी व्यवसायीको साझा संस्था बागलुङ उद्योग वाणिज्य संघको ६१ औं वार्षिक साधारण सभा तथा १९ औं अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको हो ।
निर्वाचन कार्यतालिका अनुसार चैत १० गते मतदाता नामावली प्रकाशन हुने र सोही दिन मतदाता नामावलीउपर दावी विरोध र अन्तिम मतदाता नामावली प्रकाशनको समय रहेको संघका अध्यक्ष नरेश कँडेलले बताए ।
चैत ११ गते उम्मेदवारी दर्ता र उम्मेदवारी उपरदावी विरोधको समय निर्धारण गरिएको छ । चैत १२ गतेका लागि उम्मेदवारी फिर्ता एवं समन्वय र सोही दिन उम्मेदवारीको अन्तिम नामावली प्रकाशनको कार्यतालिका तय गरिएको छ । चैत १३ र १४ गते मतदाता भेटघाट कार्यक्रम रहेको र १५ गते साधारण सभा हुने संघका महासचिव ऋषीराम गौतमले बताए ।
चैत्र १६ गते शनिबार मतदानका लागि समय निर्धारण गरिएको छ । कार्यतालिका निर्वाचन समितिले आवश्यकता अनुसार केही फेरबदल पनि गर्न सकिने संघले जनाएको छ । संघमा हाल कुल १ हजार ४२० उद्योगी व्यवसायी सदस्य छन् । सदस्यहरुले १ जना अध्यक्ष, विषयगतमा महिला उद्यमीतर्फ ३ सदस्य, उद्योगतर्फ २ सदस्य, वस्तुगततर्फ १ र खुल्लातर्फ १४ सदस्य गरी कुल २१ जनालाई मतदान गर्न पाउने छन् ।संघमा निर्वाचित अध्यक्षले ४ जना मनोनित गरी कुल २५ सदस्यीय कार्यसमिति गठन हुने ब्यवस्था रहेको छ ।












