प्रकाश सपुतको फिल्म ‘वसन्त’को छायांकन बागलुङमा सुरु

-


     हिडन खबर    
     भाद्र २२ गते २०८१ मा प्रकाशित


बागलुङ, २२ भदौं । नेपाल कै प्रशिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा शान्ति पदयात्रा सहित मन्दिर परिसरमा फिल्मको शुभ मुहूर्त गरिएको छ ।

प्रकाश सपुतको ‘वसन्त’ फिल्मको शुभ मुहूर्तसँगै शनिबारदेखि छायांकन प्रारम्भ भएको हाे ।

कालिका मन्दिर गेटदेखि मन्दिरसम्म गरिएको पदयात्रामा फिल्मका मुख्य कलाकार प्रकाश सपुत, स्वस्तिमा खड्का लगायतका कालाकार तथा फिल्मका प्राविधिक टिम सहित बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी सहित राजनीतिक दल र स्थानीयहरुको सहभागिता रहेको थियो ।

फिल्मको छायाङ्कन प्रकाशको जन्म गाउँ काठेखोला गाउँपालिका–३ धम्जामा शनिबारदेखि नै प्रारम्भ भएको निर्माता कम्पनी गलबन्दी प्रोडक्सनका कार्यकारी प्रमुख दिल शिरीषले बताए । उनले फिल्मको ९० प्रतिशत छायांकन धम्जामै गरिने जानकारी दिए ।

फिल्मको सम्पूर्ण छायाङ्कन ४५ दिनमा सक्ने तयारी गरिएको फिल्मका मुख्य सहायक निर्देशक सुनिल विकले बताए ।

‘फिल्मको सम्पूर्ण छायांकन ४५ दिनमा सक्ने तयारी गरेका छौं,’ विकले भने,‘धम्जामा २५ दिन र बागलुङ बजारमा ५ दिन छायांकन हुनेछ । अरु १५ दिन काठमाडौं र तराई भेगमा छायांकन गर्नेछौं ।’

फिल्मको शुभ मुहूर्तमा बोल्दै प्रकाश सपुतले आफ्नो यात्राको क्रममा टिपिएका शब्दहरुलाई फिल्ममा उतारेको बताए । ‘बसन्तको कथा धम्जाको डाँडाबाट सुरु भएर बागलुङ बजार, पोखरा, काठमाडौं हुँदै आफ्नो १५, १६ वर्षको यात्रामा टिपिएको छ,’ सपुतले भने ।

यो फिल्ममा प्रकाश सहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्गबहादुर पुन (खबपु) र शिवांसी श्री सहितका कलाकारको मुख्य अभिनय छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुती प्रकाश सपुतको चलचित्र वसन्तमा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली रहेका छन्भने कथा, संगीत एवम निर्देशन प्रकाश सपुतकै रहेको छ । यस्तै मुख्य सहनिर्देशकको भूमिकामा सपुतकै भाई सुनिल विक रहेका छन् । फिल्मको छायांकन सुसन प्रजापतिले गर्नेछन् ।

पोस्टरमा कलाकार र उनीहरुले निर्वाह गर्ने चरित्रबारे पनि उल्लेख छ । जसमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्गबहादुर पुन (खबपु)को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ ।

फिल्मको प्रदर्शन आगामी चैत २२ गते गर्ने निर्माण टिमले जनाइएको छ ।