जैमिनिमा सहकारी तथा वित्तीय व्यवस्थापन तालिम सम्पन्न

-


     हिडन खबर    
     चैत्र १९ गते २०७८ मा प्रकाशित


बागलुङको कुश्मिसेरामा सहकारी तथा वित्तीय व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

जैमिनी नगरपालिकाको आयोजना र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा शुक्रबारबाट सुरु भएको २ दिने तालिम शनिबार सम्पन्न भएको हो ।

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जैमिनी नगरपालिकामा सञ्चालित सहकारीका सञ्चालक र व्यवस्थापकहरुलाई दुई दिने तालिम दिएको हो । सहकारीका शेयर सदस्यहरुलाई कसरी प्रभावकारी सेवा दिने लगाएतका विषयमा तालिम केन्द्रित भएको ।

तालिममा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले सहकारी संस्थाहरुले जैमिनीमा गरिवी निवारण गर्न योगदान पुराएको भन्दै सहकारीले क्षेत्र विस्तार गरी प्रत्येक नागरिकको सहज पहुँचमा पुग्नुपर्ने बताउनुभयो ।
सहकारी संस्थाहरु उत्पादनमूखि हुनुपर्ने भन्दै नगर प्रमुख पौडेलले नगरपालिका भित्र रहेका सबै सहकारीहरु सक्रिय भएर काम गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सिवाईसी साकोसका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले सहकारी संस्थाहरु सफल बन्नका लागि शेयर सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो । अब सहकारीहरुले बचत र ऋणको मात्रै कारोबार गरेर नहुने भन्दै उहाँले सहकारीले आफ्नो क्षेत्र विस्तार गरी उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला राना, शिक्षा उपसचिव खेम प्रसाद आचार्य, सिवाईसी साकोस जैमिनी सेवाकेन्द्रका संयोजक कृष्ण प्रसाद रिजाल, सह संयोजक विष्णु प्रसाद आचार्य, परामर्शदाता क्याप्टेन पदम बहादुर श्रीस, लगायतको उपस्थिति रहेको थियो ।

जैमिनी नगरपालिका भित्रका सहकारी सञ्चालक तथा व्यवस्थापकहरु गरी ४० वटा सहकारीका प्रतिनिधिहरु सहभागी तालिममा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।