
नेपाल बैंक बागलुङ शाखा आफ्नै भवनमा सरेको छ ।
विक्रम सम्वत २०१७ सालबाट बागलुङमा सेवा सुरु गरेको बैंकले शाखा स्थापनाको ६१ बर्ष पछि आफ्नै जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरि सेवा सुचारु गरेको हो ।
नेपाल कै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बागलुङ शाखाले २०१७ साल माघ ४ गतेदेखि नागरिकलाई बित्तिय सेवा दिंदै आएकोमा शाखाकाे आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिन शुरू गरेको छ । पुरानो भवनबाट झण्डै ६ दशक सेवा दिएको बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट काराेवार शुरू गरेको हो ।

बागलुङ नगरपालिका वडा नम्बर ३ मा रहेको आफ्नो पुरानो भवन भत्काएर नयाँ भवन बनाउन ३ करोड ४२ लाखमा टेण्डर भएकोमा २ करोड ३६ लाख ४२ हजार १ सय ४२ रूपैयाँकाे लागतमा भवन सम्पन्न गर्ने जिम्मेवारी डेव एण्ड सायर तिलक जेबी निर्माण कम्पनीले भवन निर्माण गरेकाे बागलुङ शाखा प्रबन्धक अमृत सेवाले बताउनुभयो ।

आफ्नो सुविधासम्पन्न भवनबाट नयाँ एटीएम सेवा, लकर सेवा ग्राहकलाई पार्किङ सुविधा समेत भएको कारण हिजोको दिनमा जस्तो झन्झट ब्यहाेर्न नपर्ने शाखा प्रबन्धक सेवाले बताउनुभयो ।
बागलुङ शाखा र एक्सटेन्सन काउन्टरमा गरि २१ जना कर्मचारी कार्यरत छन् ।
नेपाल बैंक लिमिटेडकाे देशभर २१३ शाखा १४८ एटीएम ५० वटा एक्टेन्सन काउन्टर, २० लाख ग्राहक रहेकोमा नेपाल बैंककाे बागलुङ शाखामा २१ हजार ग्राहक रहेका छन् ।
नेपाल बैंक बागलुङ शाखा नेपाल बैंकले आफ्नो शाखाहरूलाइ विभाजन गरेको घ बर्गकाे शाखाहरूमा दुई पटक उत्कृष्ट शाखाबाट सम्मानित भइसकेकाे छ । बागलुङ सदरमुकाम सहित गलकाेट नगरपालिका र ढाेरपाटन नगरपालिकामा बैंकको शाखा रहेको छ ।
बागलुङ जिल्लामा सरकारी र निजि क्षेत्रका गरि दुई दर्जन भन्दा बढी बैंकहरुले आफ्ना शाखा मार्फत वित्तीय कारोबार गर्दै आएका छन् ।









