
काठमाडौं / वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।
जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले बताए। भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।
मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेवापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित् भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको छ ।
हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले ‘यो भोटो कसको हो’ भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिदै आएको छ ।
परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरूप नागराजले दिएको किंवदन्ती छ । आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले व्यापक खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा एकजना राक्षसले लगाएको देखेको बताइन्छ ।
ती कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच व्यापक विवाद हुनपुग्दा दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोकारूपमा उक्त भोटो राखिएको बताइन्छ ।
उक्त विवादलाई राजासमक्ष पुर्याइएपछि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा राजा र प्रजासमक्ष सम्पन्न गरिँदै आएको छ ।
करिब १४ सय वर्षपहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौँ, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरूप कामाक्षाबाट मच्छिन्द्रनाथलाई नेपाल भित्र्याएको बताइन्छ ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।












