प्रभु बैंकमा जम्मा गरेको मुद्दती खाताको झण्डै सवा करोड गायब !

-


     हिडन खबर    
     श्रावण १८ गते २०८१ मा प्रकाशित


झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयमा कार्यरत एक जना कर्मचारी सेवाग्राहीको झण्डै सवा करोड रुपैयाँ खाताबाट झिकेर फरार भएका छन् ।

बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौलाले बचतकर्ता टिकाराम नेपालको एक करोड १७ लाख रुपैयाँ गायब पारेपछि बेपत्ता भएका हुन् । 

गत माघ ३ गते नेपालले श्रीमती मञ्जुकुमारी नेपालको नाममा एक करोड १९ लाख ९३ हजार मुद्दती खातामा रकम जम्मा गरेका थिए । छ महिनापछि उनी पैसा निकाल्न बैंकमा पुगेर खातामा मौज्दात हेर्दा दुई लाख देखियो । 

पेशाले पत्रकार टिकारामले बैंकसँग आफ्नो पैसा फिर्ता मागेका छन् । उता जिल्ला प्रहरी कार्यालयमा मार्केटिङ म्यानेजर सिटौलाविरुद्ध जाहेरी दर्ता गराएका छन् । नेपालले पैसा जम्मा गर्दा सिटौलाले नै हस्ताक्षर गरेर बुझेको बताइन्छ । उनी हिजोदेखि बेपत्ता छन् । 

परिवार र आफन्तसँग सम्पर्कमा नरहेका टिकाराम बिर्तामोडकै खाजा पसलमा झोला छाडेर भागेको खुलेको छ । प्रहरीले उनको झोलाबाट कीर्ते हस्ताक्षर गरेर तयार पारिएका चेक र एटिएम कार्डहरु फेला पारेको छ । 

बैंकका शाखा म्यानेजर गणेशबहादुर बरालले भने घटनाबारे काठमाडौँस्थित हेड अफिसलाई जानकारी गराएका छन् । बैंकको केन्द्रीय कार्यालयबाट पुगेको छानबिन टोलीले घटनाबारे विस्तृत अनुसन्धान गरेपछि आवश्यक निर्णय गरिने उनले बताए ।

सर्वसाधारणले बैंकमा डिपाेजिट गरेको रकम ब‌ैक बाट रातारात गायव हुन थालेपछि नेपाल राष्ट्र बैंककाे इजाजत लिएर संचालित बैंकको समेत बिश्वास हराउँदै जान थालेको देखिन्छ यसतर्फ सराेकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ ।