पश्चिम बागलुङका ३ पालिकामा एकैसाथ प्रभु बैंकका ४ वटा शाखा सञ्चालन

-


     हिडन खबर    
     श्रावण १४ गते २०८१ मा प्रकाशित



बागलुङ । प्रभु बैंक लिमिटेडले बागलुङ पश्चिमका ३ पालिकामा एकैसाथ ४ वटा शाखा सञ्चालनमा ल्याएको छ ।
बडिगाड गाउँपालिकाको वडा नं २ खर्बाङ, वडा नं ७ भिमगिठे, ढोरपाटन नगरपालिका ७ बोबाङ र निसीखोला गाउँपालिका २ निसीमा शाखा सञ्चालनमा आएका हुन् ।

४ वटै शाखाको सोमबार प्रभु बैंकका संस्थापक अध्यक्ष देवि प्रकाश भट्टचनले उद्घाटन गर्नुभएको हो । ३ सय १३ औँ खर्बाङ शाखाको उद्घाटन समारोहमा बोल्दै भट्टचनले बैंकको शाखा स्थापना संगै यस क्षेत्रका नागरिकहरुलाई सहज बैंकिङ सेवा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले ५ लाख १७ हजार शेयर सदस्य रहेको प्रभु बैंकमा हाल ३५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको बताउनुभयो ।
सो कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले गाउँपालिकाका ३ वटा स्थानमा शाखा स्थापना हुनु महत्त्वपूर्ण उपलब्धी भएको बताउनुभयो । उहाँले सघींयताको मर्म शक्ति विकेन्द्रीकरण रहेकाले नागरिकले चाहेको अपेक्षा पुरा भएको धारणा राख्नुभयो । यस क्षेत्रमा उद्यम र उद्यमी सिर्जना गर्न बैंकले पनि सहजीकरण गर्नुपर्ने भन्दै उहाँले नागरिकको अपेक्षा बमोजिम नै सहज रुपमा सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । गाउँपालिकाले उद्यमीहरुलाई ब्याजमा अनुदान दिने गरि नीति तथा कार्यक्रम बनाएकाले बैंकले पनि सहुलियत कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समृद्धीको प्रमुख आधार अर्थतन्त्र रहेकाले सिमित पुँजीबाट उद्योगसम्म जोड्न बैंकले पुलको काम गर्ने धारणा राख्नुभयो । उहाँले यस भेगमा रहेका सम्भावित उद्यमहरुको व्यवसायिकरण गर्न बैंकले पनि प्रयास गर्ने बताउनुभयो ।

प्रभु बैंकको देशभर ३ सय १३ शाखा कार्यालय, ७० एक्सटेन्सन काउन्टर रहेका छन् भने ३५ लाख ग्राहक रहेका छन् ।