
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः अगाडि बढाएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको हो ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट निवेदन
दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो । अहिले धमाधम सडक खन्ने काम शुरू भएको छ ।
यसअघि सडक साघुँरो बनाएर फुटपाथ फराकिलो बनाउन लागिएको विरोधमा स्थानीयले समेत प्रदर्शन गरेका थिए । यसै विषयलाई लिएर नगरसभामा पनि जनप्रतिनिधिबीच नोकझोक चलेको थियो ।
फुटपाथ बिस्तार हुदा यसले स्थानीयलाई मात्र नभएर यो सडकमा आवतजावत गर्ने सर्वसाधारण लाई समेत सहज हुनुका साथै ब्यापार ब्यवसायमा समेत फाइदा पुग्ने देखिन्छ ।









