बागलुङको दब्ल्याङको पहिरो नियन्त्रणको काम सुरु

-


     हिडन खबर    
     असार १४ गते २०८१ मा प्रकाशित


बागलुङ । बागलुङ नगरपालिका – १० गलुवाको दब्ल्याङमा खसेको पहिरो नियन्त्रको काम थालिएको छ । बागलुङको दक्षिण भेगको मुख्य समस्याका रुपमा रहेको पहिरो नियन्त्रण गर्न बागलुङ नगरपालिकाले उपभोक्ता समितिमार्फत् काम थालेको हो ।

वर्षा याम शुरूवात भए संगै आकाशबाट पानी परेपछि भइरहेको सडकको काम अबरुद्ध हुन लागेको भन्दै प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी प्रमुख ,सुरक्षा निकाय बागलुङ नगरपालिका ,जिल्ला समन्वय समिति पत्रकारकाे टाेली पुगेर सडकको अनुगमन निरक्षण गरेर जथाभावी रूपमा बगाएको पानी नियन्त्रण गरेर सडक अबरुद्ध नगर्न निर्देशन दिएको छ ।

पहिरोका कारण वर्षामा पटक–पटक सडक अवरुद्ध हुँदा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर सहित बलेवा कुश्मिसेरा सडक वर्खायाममा अवरुद्ध हुँदै आएपछि नियन्त्रणको काम थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

दक्षिण भेगको मुख्य समस्याको रुपमा रहेको पहिरो नियन्त्रण गर्न बागलुङ कुश्मीशेरा सडकमा आउने जाने सवारीलाई कालीगण्डकी करिडोरबाट वैकल्पिक मार्गको व्यवस्था गरि पहिरो नियन्त्रणको काम भैरहेको छ ।

पहिरो नियन्त्रणका लागि पहिलो चरणमा पानी व्यवस्थापनको काम थाल्न पहिरोको भौगर्भिक अध्ययन गरेको ‘एक्सप्लोलर जियोलोजिक कन्सल्टेन्सी’ले दिएको सुझावका आधारमा नगरपालिकाले तारजाली लगाउने र पानी तर्काउने काम थालेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले बताए ।

तीन वर्ष अघिको पहिलो रोकथामको प्रयास नुहुदा वर्खामा पटक–पटक बागलुङको दक्षिण भेग बलेवा, कुश्मिसेरा, बरेङ जाने सडक अवरुद्ध हुँदै आएकोमा यस पटक गण्डकी प्रदेश सरकारको ५० लाख बजेटबाट बागलुङ नगरपालिका मार्फत पहिरो रोकथामको काम थालिएको बागलुङ नगरपालिकाकाले जनाएको छ ।

तीन वर्षदेखि वर्खामा सडक खुलाउने काम मात्रै गरेको भएपनि पटक–पटक सडक अवरुद्ध हुँदा बागलुङ नगरपालिकाका तीन वटा वडा सहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जाने मुख्य सडकको रुपमा रहेको सो मार्ग अवरुद्ध हुँदा सयौ यात्रु दैनिक अलपत्र पर्दै आएपछि पहिरो रोकथामका लागि गण्डकी प्रदेशले अध्ययन गरेको थियो ।

प्रदेश सरकारले नगरपालिकालाई पठाएको बजेटबाट तत्कालका लागि आवश्यक पर्खाल, ग्याबिन र नाली बनाउन थालिएको र अहिले प्रदेश सरकारले बिनियोजन गरेको ५० लाख बजेटबाट पहिरो रोकथामको काम शुरु गरिएको छ  । असारको दोस्रो साता सम्म पहिरो रोकथामको काम सकिने गरी औजार सहित कामदार खटिएकाे दाबी गरेका छन् ।

सडकको वैकल्पिक व्यवस्था समेत नहुँदा पहिरो नियन्त्रण गर्न आवश्यक रहेपछि गण्डकी प्रदेश सरकारले गरेको अध्ययनमा पहिरोलाई पुरानै अवस्थामा फर्काउनका लागि १८ करोड खर्च लाग्ने विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा जम्मा ५० लाख बजेट बिनियोजन गर्दा पूर्वाधार मन्त्रालय अन्तरगत काम गर्न नसकेपछि नगरपालिकालाई वित्तिय हस्तान्तरण गरिएको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ ।

तीन वर्ष अघिको असारमा पहाडै खसेर सडक बगाएपछि बागलुङको दक्षिण भेग वलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल समस्यामा परिरहेको छ । वैकल्पिक ट्रयाक समेत खोल्न नसक्दा सडक सञ्जालमा दक्षिण भेग टुट्दै आएपछि गण्डकी प्रदेश सरकारको पहलमा दुई पटक सम्म पहिरो समाधानका लागि अध्ययन भएको थियो ।