थ्री जिराे क्लबकाे प्रथम सम्मेलन बागलुङमा सम्पन्न

-


     हिडन खबर    
     वैशाख १६ गते २०८१ मा प्रकाशित


बागलुङ/सिवाईसी बचत तथा ऋण सहकारी संस्था, सिवाइसी नेपाल र सिवाईसी लघुबित्तले गठन गरेका थ्रि जिरो क्लबहरुको प्रथम सम्मेलन बागलुङ सदरमुकाममा शनिबार सम्पन्न भएको छ ।

शुन्य गरिबी, बेरोजगारी र शुन्य कार्वन उत्सर्जन गर्नका लागि युवा परिचालन गर्न शुरु गरिएका थ्रि जिरो क्लबका पदाधिकारीको सम्मेलन गरिएको सिवाईसी नेपाल चारतारे युवा क्लवका अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिए ।

केही महिना अघिदेखि शुरु भएको यो अभियानलाई तीब्रता दिएर १५ बर्षदेखि ३५ बर्षका युवालाई उत्पादनमा जोड्ने लक्ष राखिएको अध्यक्ष शर्माले बताए । कार्यक्रममा स्वाभलम्वन बिकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठ,गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी जैमनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा ,सिवाइसी लघुबित्तका अध्यक्ष पध्मनाथ शर्मा ,अगुवा किसान गंगा थापा स्ववियु अध्यक्ष सुदीप कडेल बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पाेखरेल लगायतका बक्ताहरूले धारणा राखेका थिए ।

कार्यक्रममा गोविन्द बहादुर खत्री प्रस्तुतीकरण गरेका थिए । हरेक नागरिक उद्यमशिलता बन्नुपर्ने अवधारणा अनुसार युवाहरुलाई क्लबमा संगठित गरेर बचत गर्ने बानी बसाल्ने, उदमशिलतामा जोड्ने र उत्पादन बढाउने योजना अनुसार सिवाइसी नेपालले थ्रि जिरो क्लब गठनको अभियान शुरु गरेको जनाएको छ ।

सम्मेलनमा बागलुङका १८ वटा विद्यालयका २ सय ४५ र पर्वतका दुइ विद्यालयका ३५ गरी २ सय ८० युवा सहभागि थिए ।

थ्रि जिरो क्लवको अवधारण नोबल शान्ति पुरस्कार विजेता प्रोफेसर डा। मोहम्मद युनुसले ल्याउनु भएको हो । सोही परिकल्पना अनुसार विश्वभरका ५४ वटा देशमा यस्ता प्रकारका क्लवहरु गठन भई परिचालीत रहेका छन् । नेपालमा पनि केही गैरसरकारी, सहकारी र लघुवित्त संस्थाहरुले युनुसको परिकल्पनालाई पछ्याउदै यो कार्य अगाडि बढाईरहेको छन् ।

थ्री जिरो क्लवको विश्वव्यापी सञ्जाल निर्माण गर्ने, थ्री जीरोको महत्व, आवश्यकता एवं लक्ष्यबारे जानकारी गराई त्यसमा युवाहरुको रचनात्मक र नेतृत्वदायी भूमिकाको अवसर सिर्जना गर्ने, विश्वका जल्दाबल्दा समस्याहरुको समाधानमा स्थानीय स्तरबाटै पहलकदमी गर्ने जस्ता कार्यहरु गर्नका लागि स्वतस्फुर्त रुपमा यस्ता क्लवहरु गठन गर्ने गरिएको छ ।