
बागलुङ, हिमालपारिकाे जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा कालीगण्डकी नदिको कटानले जोखिममा रहेको सडक आइतबार भासिँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका तथा फर्कँदै गरेका दर्शनार्थी धार्मिक तथा बिदेशी पर्यटक अलपत्र परेका छन् ।
बेनी–जोमसोम–कोरला सडक अन्तर्गत पर्ने घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित मुस्ताङ अस्पताल अगाडीको सडक भासिँदा सवारी आवागमन रोकिएको हो ।
गएको वर्षाको समयमा कालीगण्डकी नदिको बहावका कारण जोमसोमको उक्त सडक करिब सय मिटर भासिएको थियो । सोही सडक भासिएको स्थानमा एकतर्फी रूपमा सवारी आवतजावत गर्ने गरी सडक बेस बनाइएकोमा सोही स्थानमा फेरि सडक भासिँदा सवारी आवागमन नै अवरुद्ध हुन पुगेको छ ।
यही वर्ष कागबेनीमा आएको बाढीले गर्दा थुनिएको कालीगण्डकी नदी खुल्दा उक्त सडक मुनि कालीगण्डकीले कटान गर्दा सडक भासिन थालेको थियो । हिन्दुहरूको लागि महत्त्वपूर्ण मानिने चैत्राष्टमी तथा भोलीको औँसी तिथिमा पितृ तर्पणको लागि कागबेनीमा श्राद्ध गर्ने, तर्पण दिने र मुक्तिनाथ दर्शन गर्न आएका हजारौँ तीर्थयात्री अहिले जोमसोममा अलपत्र परेको जोमसोम स्थित पर्यटन व्यवसायी होटल शालिग्रामका सञ्चालक अमृत सुवेदीले बताउनुभयो ।
सवारी आवागमन बन्द हुँदा पुथाङ एयरपोर्टदेखि जोमसोम बसपार्क सम्मको दुरीमा सवारी साधन रोकिएका उहाँको भनाइ छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जोमसोममा सडक भासिएर सडक अवरुद्ध भएको र तत्कालका लागि माटो फिलिङ गरी सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो ।
सडक खुलाउनका लागि मेसिन परिचालन गरिएको र जति सक्यो चाँडो सडक सञ्चालन गरी दर्शनार्थीहरुलाई गन्तव्य तर्फ पु¥याउने प्रयास भइरहेको प्रजिअ पन्तले बताउनुभयो ।
मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले सडक एक्कासि भासिएको भए पनि अन्य कुनै पनि क्षति नभएको जानकारी दिनुभयो । सडक त भासियो तर अन्य क्षति भएको छैन र त्यसलाई चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेकाे बताउनुभयो ।












