बैशाख १ देखि एकैसाथ ५ ठाउँमा महायज्ञ

-


     हिडन खबर    
     चैत्र ६ गते २०७८ मा प्रकाशित


नयाँ वर्ष २०७९ को पावनअवसरमा एकै मितिमा पाँच ठाउँमा महायज्ञ आयोजना गरिने भएको छ ।

महायज्ञ आयोजक समितिले आइतबार बागलुङ आयोजना गरेको पत्रकार सम्मेलनमा हिन्दु धर्म र धार्मिक शक्तिपिठहरुको विकास एवं प्रबर्धनका गर्ने उदेश्यले एकै मितिमा धौलागिरी क्षेत्रमा महायज्ञ गर्न लागिएको महायज्ञ आयोजक समितिका सदस्य जगन्नाथ आचार्यले बताउनुभयो ।

आगामी बैशाख १ गतेदेखि ५ गतेसम्म धौलागिरी क्षेत्रका तीन जिल्लाका विभिन्न ठाउँहरुमा पञ्चश्री महायज्ञ आयोजना गरिने भएको हो ।

बागलुङ, पर्वत र म्याग्दी जिल्लाका विभिन्न ५ ठाउँमा अवस्थित धार्मिक क्षेत्रहरुमा एकै मिति र समयमा महायज्ञ आयोजना गर्न लागिएको हो ।

पर्वत जिल्लाको जलजला गाउँपालीका-६ साविकको सालीजा र लेखफाँट गाविसको संगमस्थल कालञ्जर क्षेत्रमा ‘मृगसरोवर कालञ्जर समाज समृद्धि महायज्ञ’, बागलुङ जिल्ला बागलुङ नगरपालिका-५, मालिकामा ‘मालिका भगवती तथा गौशाला समाज समृद्धि महायज्ञ’ र बागलुङ नगरपालिका-६ ‘रारायीकोट समाज समृद्धि महायज्ञ’, आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिका प्रवक्ता सुदर्शन वडालले बताउनुभयो ।

त्यस्तै म्याग्दी जिल्ला बेनी नगरपालिका-२, गौश्वारामा
‘गौश्वारा समाज समृद्धि महायज्ञ’ र बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगँगा गाउँपालिकाको संगमस्थल टोड्केमा ‘सिद्धभूमि समाज समृद्धि महायज्ञ’ एकै मितिमा आयोजना गरिने प्रवक्ता वडालको भनाई रहेको छ ।

पाँच दिन सम्म सञ्चालन हुने महायज्ञ अनन्त श्री विभूषति मुक्तिनाथ पीठादिश्वर स्वामी कमलनयनाचार्यको सत्तसंकल्पमा आयोजना गरिएको हो ।