३ रोपनी जग्गामा लागूऔषध ‘अफिम खेती’ गर्ने लामालाई पक्राउ

-


     हिडन खबर    
     चैत्र १४ गते २०८० मा प्रकाशित


लमजुङ / लमजुङमा अवैध लागूऔषध ‘अफिम खेती’ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर राक्सिराङ गाउँपालिका–८ घर भएका २६ वर्षीय हिमाल लामा थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

लमजुङको मध्यनेपाल नगरपालिका–३ सूर्यपालमा अवैध लागूऔषध अफिम खेती गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजाराम खड्काले बताए ।

मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि प्रहरीले पक्राउ परेका लामासहित उनले ३ रोपनी जग्गामा लगाएको १४ हजार ५ सय ६६ अफिमका बोट, अफिमबाट संकलन गरिएको १०७ दशमल ४ ग्राम चोप, चोप निकाल्न प्रयोग गरिएका सामग्री सार्वजनिक गरेको छ ।

पक्राउ परेका लामा विगत १ वर्षदेखि सूर्यापालमा विष्णु सुवेदीको खेतबारी रेखदेख गरी बस्दै आएका थिए । पक्राउ परेका लामालाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अफिम खेती अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।