
बागलुङ । बागलुङ पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पु¥याइएको छ । बागलुङको पन्चकाेटमा पत्रकार सम्मेलन गरेर महायज्ञको तयारी बारे जानकारी दिइयो ।
महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान्यान्चल समेत गरिने छ । त्यस बाहेक यहाँ ९ गतेदेखि २३ गतेसम्म हरेक दिन विभिन्न कार्यक्रम र सम्मेलन समेत गरिने महायज्ञ आयाेजक समितिले जनाएको छ ।
महायज्ञ संचालन हुने हरेक दिन फरक फरक कार्यक्रम समेत संचालन हुनेछन् । पहिलो दिन फागुन ९ गने जल, उर्जा, विकास तथा वातावरण सम्मेलन हुने भएको छ ।
फागुन १० गते राष्ट्रिय राजनीति एवं कर्मचारी सहितको उपस्थितिमा पञ्चकोटको महत्वबारे प्रकाश पारिनेछ । फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलन, फागुन १२ गते गण्डकी विकासको अवधारणा र कायान्वयन सम्मेलन, फागुन १३ गते प्रादेशिक राजनीति र सुशासन सम्मेलन हुनेछ ।
फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्दती कार्यान्वयन सम्मेलन, फागुन १५ गते आत्म निर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन, फागुन १६ गते योग नथा खेल सम्मेलन, फागुन १७ गते पूृर्वीय चिकित्सा पद्दती र जनस्वास्थ्य विकास सम्मेलन हुने भएको महायज्ञका मुल संयोजक स्वामी कमलनयनाचार्यले बताउनुभयो ।
त्यस बाहेक फागुन १८ गते राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तिय संस्थाको योगदान, फागुन १९ गते समावेशीताको सिद्धान्त र महिलाको क्षमता विकास सम्मेलन, फागुन २० गते भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन हुने छ ।
फागुन २१ गते समाजसेवा र समाजसेवीको प्रभावकारीता सम्मेलन, फागुन २२ गते प्राकृतिक श्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक स्थलको संरक्षण सम्बन्धी सम्मेलन समेत हुने भएको हो ।
महायज्ञ ९ गते गण्डकी प्रदेशका १ सय ९ जना कन्याले महायज्ञ शुभारम्भ गर्नेछन् भने १० गते राष्ट्रपति रामचन्द्र पौडेल आउने छन् । त्यसका लागि सुरक्षा समितिका बैठक बसेर व्यवस्थापन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताउनु भयो ।
महायज्ञका लागि पञ्चकोटलाई सिँगार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माणका साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ। महायज्ञमा हजारौं भक्तजन उपस्थित हुने हुँदा उनीहरूका लागि आवास, भोजनालय, लिङ्गाे गाड्ने, आन्तरिक व्यवस्थापन तयारी पूरा भएको छ ।
















