
हिडन संवाददाता
बागलुङ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी लाई कालो मोसो दलेर कार्वाही गरेको छ।
आइतबार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, बागलुङ कमिटीले स्वास्थ्य शाखा प्रमुख केसीलाई कालो मोसो दलेको हो।
म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका स्थानीयको जीवनमाथि नै खेलबाड गरेको आराेप लगाउदै कारबाहीस्वरूप कालोमोसो दलेको जिल्ला इन्चार्ज अजनवीले बताए।
जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको भनेर बिज्ञप्तीमा भनिएको छ ।
गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताको स्वास्थ्यमाथि खेलबाड गरिएको भन्दै कारबाही गरिएको सो पार्टीले जनाएको छ।
केही समयअघि बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखामार्फत वितरण भएको १० देखि १९ वर्ष समूहका किशोरीले खाने आइरन चक्कीको म्याद गुज्रेको विषयमा समाचार प्रकाशन भएको थियो।
समाचार प्रकाशनपछि बडिगाड गाउँपालिकाले पत्रकार सम्मेलन त्यसको खण्डन गरेको थियोे। यद्यपि स्वास्थ्य शाखाका कर्मचारीले भने गल्ती स्वीकार गरेका थिए।










